Holi asnjal makar GURU

स्थानीयलाई रोजगारी नदिएको भन्दै स्थानीयवासी आन्दोलित ।

35

गौरीशंकर जयसवाल

परासी, १५ असोज
स्थानीयलाई रोजगारी नदिएको भन्दै पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको औद्योगिक क्षेत्रका बासिन्दा आन्दोलित भएका छन् । रामग्राम नगरपालिकाको वडा नं.१५,१०,१४ लगायतका बासिन्दाले त्यहाँ रहेका उद्योगहरुले स्थानीयलाई भन्दा बाहिरकालाई रोजगारी दिने गरेको भन्दै विरोध गरेका हुन् ।

स्थानीयलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने, उद्योगबाट निस्कने प्रदुषित पानीको व्यवस्थापन गर्नुपर्ने, उद्योगका धेरै भार बोकेका सवारी साधनले सडक कुरुप बनाएकोले उचित व्यवस्थापन गर्नुपर्ने लगायतका विभिन्न माग राखेर आन्दोलित हुनुपरेको स्थानीय ईन्द्रेश गुप्ताले बताए । आज विहान स्थानीय युवाहरुले घेराउ गरेपछि केही समय विजय डिष्टिलरीको काम अवरोध भएको थियो । विजय डिष्टिलरी(रुस्लान ), सिद्धि लक्ष्मी स्टील लगायत सो क्षेत्रका स्थापना भएका उद्योगले पटकपटक स्थानीयसँग समस्या समाधानका लागि सहमति गर्ने तर कार्यान्वयन नगर्न गरेको भन्दै युवाहरु रुष्ट भएका हुन् ।

विजय डिष्टिलरीका प्रबन्धक उदय विष्टले भने उद्योगले स्थानीय २० जनालाई सुरक्षा गार्ड, सरसफाई लगायतका लागि रोजगारी दिएको दाबी गरे । युवाहरु आन्दोलित भएपछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)की जिल्ला कमिटी सदस्य रिंगला यादवको पहलमा आन्दोलनरत पक्ष र उद्योग प्रशासनबीच वार्ता पनि गरिएको छ । स्थानीयले राखेका मागहरुको बारेमा उद्योगको व्यवस्थापन समक्ष राख्ने र त्यसका लागि एक हप्ताको समय उद्योग प्रशासनले मागेपछि एक हप्ता पछि पुनः ठोस वार्ता गर्ने गर्ने निर्णय भएको नेतृ यादवले बताईन ।