नवलपरासीको सुनवल नगरपालिकाले सामुदायिक बिद्यालयका प्राथमिक तहमा अध्यापनरत शिक्षकहरुका लागि १ सय ६ घण्टे सक्षमता बिकास सम्बन्धि तालिम संचालन गरेको छ । सिकाई केन्द्रको सभाहलमा आज एक कार्यक्रमका बिच नगर प्रमुख भिमबहादुर थापाले तालिमको समुद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर र क्षमता बिकास गरि उच्च स्तरको शिक्षा प्रदान गर्न तालिम फलदायि हुने बिश्वास व्यक्त गर्नुभयो । हालै गरिएको शिक्षक सरुवा प्रति इंगित गर्दै नगरप्रमुख थापाले गुणस्तरीय शिक्षाका लागि स्थानिय शिक्षा निति अनुसार शिक्षक हेरफेर गरेको जानकारी दिदै भन्नुभयो ।
नगरप्रमुख थापाले सवै शिक्षकले आफ्नो बिषयगत परिणाम राम्रो दिनुपर्ने भन्दै कुनै पनि विषयमा विद्यार्थीहरुले कम अंक ल्याएमा सम्वन्धित शिक्षकले नै स्पष्टिकरण दिनुपर्ने समेत बताउनुभएको छ । उहाले समय अनुसार शिक्षकहरुलाई सक्षम बनाएर अगाडि ल्याउन नगरपालिका प्रयासरत रहेको जानकारी गराउदै तालिम अवधिभर सक्रिय सहभागिताका लागि आग्रह गर्नुभयो । उहाले सामुदायिक बिद्यालयमा काम, कर्तव्य र परिणाम आउने बिषयमा शिक्षक,अभिभावक लगायत सवै व्यक्ति जवाफदेहि हुनुपर्ने धारणा राख्नुभयो । नगरप्रमुख थापाले अब पनि पुरानै शैलिमा विद्यार्थीहरुलाई अध्यापन गराउने हो भने ती विद्यार्थीहरु अबको बजारमा विक्न नसक्ने खाल्का जनशक्ति उत्पादन हुने भएकाले अब सबै विद्यालयहरुमा प्रविधिको प्रयोग गरी विश्व बजारमा विक्ने जनशक्तिहरु उत्पादन गर्न जरुरी रहेको बताउदै आधुनिक प्रविधिमैत्रि शिक्षामा जोड दिनुभयो ।
सुनवल नगरपालिका वडा नं. २ का वडाअध्यक्ष एवं सामाजिक विकास समिती संयोजक राजेन्द्र यादवको अध्यक्षता र नगर प्रमुख भिम बहादुर थापाको प्रमुख आतिथ्यता एवं उपप्रमुख दधिराम अर्यालको विषेश आथित्यतामा सो तालीमको समुद्घाटन भएको थियो । सो अवसरमा शिक्षा शाखा प्रमुख बिष्णु गोतामे , शिक्षा अधिकृत पशुपति भट्टराई, शिक्षक महासंघका नगर अध्यक्ष बाबुराम पाण्डे, पत्रकार दिपक खनाल लगाएतको उपस्तिथी रहेको थियो ।