Jilla Ban Notis

पार्टी छोड्दिन तर पार्टी सच्चिनुपर्छ, कार्यकर्ताको सदासयताप्रति आभारी छु ः खिमलाल पोखरेल

0 63

परासी, १ पुस
नेकपा एमालेका केन्द्रीय सल्लाहकार खिमलाल पोखरेलले पार्टीमा वेथिती बढेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । ईमान्दार कार्यकर्तालाई पाखा लगाउँदै उहाँले एमालेमा योगदान नै नगरेका एकनाथ ढकाललाई समानुपातिक सांसद बनाईएकोमा आश्चर्य व्यक्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालका सहयात्री समेत रहनुभएका एमाले नेता पोखरेलले आज पश्चिम नवलपरासीको सरावल वासामा पत्रकार सम्मेलन गरी पार्टी नेतृत्वलाई सच्चिन आग्रह गर्नुभयो ।

पोखरेलको नाम समानुपातिक सांसदको सूचीमा नपरेपछि एमालेका स्थानीय कार्यकर्ताले केही दिन अघि सामूहिक विज्ञप्ति जारी गर्दै विरोध वनाएका थिए । पोखरेलले कार्यकर्ताबाट आफूप्रति देखाईएको स्नेह र सदासयताप्रति आभार व्यक्त गर्नुभएको छ ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको समानुपातिक तर्फको सूचीमा खसआर्य तर्फ ५ नम्बरमा पोखरेलको नाम रहेपनि अन्तिम समयमा समानुपातिक सांसदको सूचीबाट आफ्नो नाम हटाईएपछि नेता पोखरेलले असन्तुष्टि जनाउँदै पार्टीले ईमान्दार कार्यकर्ताको मूल्यांकन गर्न नसकेको गुनासो गर्नुभयो । वि.स.२०२३ सालदेखि कम्युनिष्ट पार्टीमा आवद्ध ज्येष्ठ सदस्य पोखरेलको पार्टी सदस्यता नं. ११९ हो ।

समानुपातिकतर्फ सबैभन्दा बढी भोट पाई ३४ सिट पाएको एमालेबाट सिट बाँडफाँड गर्दा खस आर्यमा ११, आदिवासी जनजातिमा १०,मधेसी ५,दलित ५, थारु २ मुस्लिमतर्फ एक सिट परेको थियो । समग्रमा ३३ प्रतिशत महिला छनौट गर्दा खस आर्यतर्फ एमालेले ६ महिला र ५ पुरुष छनौट गर्न सक्ने प्रावधान थियो । ३३ प्रतिशत महिला पुर्याउन समानुपातिकबाट १९ जना महिला पठाउनुपर्नेमा एमालेको सचिवालय बैठकले २२ जना महिला पठाई खस आर्य तर्फका पुरुषलाई अन्य गरेको र जानीजानी उक्त सूचीबाट आफ्नो नाम हटाईएको नेता पोखरेलको दाबी छ । सन १९६६ मे ५ मा भारतमा प्रवासी नेपाली संघ गठन हुँदा पोखरेल त्यसको संस्थापक सदस्य हुनुहुन्थ्यो ।

पार्टीले दिएको जिम्मेवारी ईमान्दारितापूर्वक निर्वाह गर्दै आएको र हालसम्म कुनै पनि लाभको पदमा नबसेको र नमागेको उहाँले बताउनुभयो । तर समानुपातिक सूचीमा राखेर अन्तिम समयमा नाम काटिएको भन्दै नेता पोखरेलले आफूप्रति पार्टीले गरेको व्यवहारबाट स्तब्ध भएको बताउनुभयो । उहाँले पार्टी भित्र देखिएके गलत प्रवृत्ति र वेथिती समयमा सच्याउन पार्टीका शीर्ष नेताहरुलाई आग्रह गर्नुभएको छ । पार्टीले आफ्नो योगदानको मूल्यांकन नगरेपनि नेकपा एमाले भने नछाड्ने पोखरेलले बताउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.