Jilla Ban Notis

नागरिक समाज नवलपरासीको अध्यक्षमा राधेश्याम सिंह सैथवार

0 75

वैशाख २३
नागरिक समाज नवलपरासीको अध्यक्षमा राधेश्याम सिंह सैथवार चयन हुनुभएको छ । परासीमा आज सम्पन्न नागरिक अगुवाहरुको भेलाले समाजसेवी सैथवारको अध्यक्षतामा नागरिक समाज नवलरासीको पुनःगठन गरेको हो ।
नागरिक समाज नवलपरासीका संस्थापक अध्यक्ष रामजी ज्ञवालीको अध्यक्षतामा भएको भेलाले सैथवारको अध्यक्षतामा पत्रकार, वकिल, अधिकारकर्मी, व्यवसायी, महिला,समाजसेवी लगायत सदस्य रहेको ११ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।

नागरिक समाजका अध्यक्ष कैलाश ठाकुरले राजीनामा दिएपछि नयाँ समिति गठन गरिएको संस्थापक अध्यक्ष ज्ञवालीले बताउनुभयो । २०६२/०६३ को जनआन्दोलन र त्यसपछिका मधेस आन्दोलन पछिको परिस्थितिलाई मध्यनजर गर्दै नवलपरासीमा नागरिक समाज गठन गरिएको थियो । समाजले आम नागरिकका अधिकार, नागरिक सरोकार तथा सुशासन कायमका लागि बुलन्द रुपमा आवाज उठाउँदै आएको बताउँदै संस्थापक अध्यक्ष ज्ञवालीले आगामी दिनमा पनि नागरिक समाजको नयाँ नेतृत्वले आम नागरिकका समस्यालाई बुलन्द रुपमा उठाउँदै सम्बन्धीत निकायको ध्यानाकर्षण गराउन अग्रणी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

नागरिक समाजका नवनिर्वाचित अध्यक्ष सैथवारले संस्थाको साख नगिर्ने गरी नागरिक हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले समाजका विकृति, विसंगति विरुद्ध आफूले पहिलादेखि नै आवाज उठाउँदै आएको र आगामी दिनमा पनि नागरिक सरोकारका विषयलाई निर्भिकताका साथ उठान गर्ने बताउनुभयो । सैथवार नेपाल प्रहरीका अवकाश प्राप्त पूर्व प्रहरी निरीक्षक हुनुहुन्छ । नेपाल प्रहरीमा रहेर करिब तीस वर्ष देश र नागरिकको सेवा गर्नुभएका सैथवारले अवकाश प्राप्तपछिको जीवनलाई नागरिक अधिकारका लागि समर्पित गरेको उहाँले बताउनुभयो ।अध्यक्ष सैथवारले समाजको सचिवमा अर्जुन क्षेत्री र सल्लाहकार संस्थापक अध्यक्ष रामजी ज्ञवाली तथा पूर्व अध्यक्षहरु शम्भु उपाध्याय र कैलाश ठाकुरलाई मनोनीत गरिएको र अन्य सदस्यहरुको कार्यविभाजन बैठकबाट गर्ने जानकारी दिनुभयो ।

उक्त अवसरमा नागरिक समाज नवलपरासीका पूर्व अध्यक्ष शम्भु उपाध्याय, नवलपरासी उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेश गुप्त, नेपाल लेखापढी कानून व्यवसायी एसोसियसनका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सचिव अर्जुन क्षेत्री, बौद्धिक समाज नवलपरासीका अध्यक्ष अधिवक्ता मनोज हरिजन, परासी प्रेस क्लबका अध्यक्ष पत्रकार बेचु गौड, मानवअधिकारका लागि महिला एकल महिला समूह नवलपरासीकी अध्यक्ष विष्णु थापा, गैरसरकारी संस्था महासंघ नवलपरासीका सहसचिव रन्जित शर्मा, दैनिक24 खबर अनलाईनका प्रबन्ध निर्देशक एवं सम्पादक मोहन पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.