Jilla Ban Notis

शिक्षक सरूवाको विषयलाई लिएर विद्यार्थीहरूद्धारा नगरपालिका घेराउ

0 110

हरि शर्मा

परासी,भदौं–२९

शिक्षक सरूवाको विषयलाई लिएर विद्यार्थीहरूले बुधबार नवलपरासीको रामग्राम नगरपालिका घेराउ गर्दै प्रदर्शन गरेका छन् ।

सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित एकै पटक ३३ जना शिक्षककको सरूवा गरेपछि अहिले नगर क्षेत्रको शैक्षिक क्षेत्रमा हलचल मच्चिएको हो । देशभर राष्ट्रिय बाल दिवस मनाई रहेका बेला सदरमुकाम परासीको रामग्राम नगर क्षेत्रका विद्यार्थीहरू भने आन्दोलनमा उत्रिएका हुन् । बाल दिवसको अवसरमा नगरपालिकाको सभाहलमा चित्रकला प्रदर्शनी राखिएको थियो । तर, विद्यार्थीहरू आन्दोलनमा उत्रिएपछि कार्यक्रम स्थगित भएको छ । आन्दोलनका कारण नगरपालिकाको काम समेत ठप्प बनेको छ । विद्यार्थीहरूले नगरपालिकाको मुल गेटबाट भित्र प्रवेश गर्न थालेपछि केही समय प्रहरीसँग विवाद समेत भएको थियो ।

सदरमुकाममा रहेको पवन माध्यामिक विद्यालयका विद्यार्थीहरूले प्रदर्शन गरेको आन्दोलनमा वरपरमा रहेका केही विद्यालयका विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो । पढाई राम्रो गर्ने शिक्षकको सरूवा गरेका कारण आन्दोलन गरिएको विद्यार्थीहरूले बताएका छन् । सरूवा फिर्ता नभएसम्म आन्दोलन जारी रहने पवन माविका विद्यार्थीहरूले बताएका छन् । पवन माविबाट प्रधानाध्यापकसहित ६ जना शिक्षकको सरूवा गरिएको छ ।

नगर क्षेत्रमा ३२ वटा सामुदायिक विद्यालयमा छन् । ति विद्यालयमा कुल १ सय ४१ जना शिक्षकले अध्यापन गराउँदै आएका छन् । जसमा मावि तहका ८ जना, निमावि तहका २० जना र प्रावि तहका ५ जनासहित ३३ जना शिक्षकका सरूवा भएको नगर शिक्षा शाखाका प्रमुख रुद्र प्रसाद रेग्मीले बताउनुभयो । उनीहरूको नगर क्षेत्रकै विद्यालयहरूमा सरूवा भएको छ। सरूवा भएकामा शिक्षकहरू एकै विद्यालयमा ३ वर्षदेखि २८ वर्षमा कार्यरत रहेका छन् । लामो समयसम्म एउटै विद्यालयमा बस्नु भन्दा अर्को विद्यालयमा जाँदा शैक्षिक सुधार हुने अपेक्षाले सरूवा गरिएको प्रमुख रेग्मीको भनाइ छ ।

रामग्राम नगरपालिका मेयर धनपत यादवले नियमानुसार सरूवा गरिएकाले विद्यार्थीहरूको मागलाई कार्यपालिकाको बैठक बसेर टुंगाउने बताउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.