कृष्ण ढकाल
बर्दघाट,असार–११
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, रुपन्देहीको पहलमा सुनवलमा मेसिनमार्फत धान रोप्न सिकाउने प्रविधि प्रदर्शन गरिएको छ । समय र श्रमको बचतका साथै उत्पादन लागत घटाएर उत्पादन वृद्धि गर्ने विश्वासका साथ पश्चिम नवलपरासी जिल्लामा पहिलोपटक मेसिन प्रयोग गरी धान रोप्ने मेशीनकाे शुभारम्भ जिल्ला समन्वय समितिका अध्यक्ष भगाैती यादवले गर्नु भएकाे थियाे भने साे अवसरमा सुनवल नगर प्रमुख बिमला अर्यालकाे समेत सहभागिता रहेकाे थियाे ।
धान रोपाईंमा आधुनिकता ल्याउने उद्देश्यसहित किसानलाई मेसिनमार्फत धान रोप्न सिकाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, रुपन्देहीले सुनवल नगरपालिका–१३मा मेसिनमार्फत धान रोप्न सिकाइएकाे परियोजनाका वरिष्ठ कृषि अधिकृत नारायण काफ्लेले बताउनु भयो ।
चारपांग्रे ट्रयाक्टर जडित मेसिनबाट रोपिँदा खर्च परम्परागत पद्धतिमा भन्दा दुईदेखि तीनगुणा सस्तो पर्ने कृषि अधिकृत काफ्लेले जानकारी दिनु भयो। स्वाठी कृषि सहकारीको खेतमा यान्त्रिक धान रोपाईंका क्रममा सहभागी किसानहरू यान्त्रिक रोपाईंप्रति उत्साहित देखिएका थिए । तर, स्वाठी कृषि सहकारी अध्यक्ष वीरबहादुर थापाले भने मेसिनले धान टाढा टाढा रोप्ने र बाँजो माथि देखिने भएकाले पानी परेपछि धान कतै उखेलिन्छ कि भन्ने शंका व्यक्त गरनु भएकाे थियाे ।
परियोजनाले आगामी वर्ष सुनवल र रामग्राम नगरपालिकाका चार वटा वडामा सञ्चालन भइरहेको कृषि जोन कार्यक्रमअन्तर्गत किसानलाई धान रोप्ने मेसिन उपलब्ध गराएर धानखेतीको क्षेत्र विस्तार गर्ने योजना बनाएको छ ।
कृषि ज्ञान केन्द्र, नवलपरासीका प्रमुख डा. रविन्द्रनाथ चौबेका अनुसार जिल्लामा कुल ४१ हजार हेक्टर खेतियोग्य जमिनमध्ये हाल २१ हजार हेक्टर क्षेत्रमा धान खेती हुँदै आएको छ । यस वर्ष हालसम्म झण्डै ७० प्रतिशत क्षेत्रफलमा रोपाईं सम्पन्न भइसकेको प्रमुख चौबेले जानकारी दिनु भयो ।
