Jilla Ban Notis

प्रदेश नम्बर ५ मा पहिलो पटक बर्दघाट नगरक्षेत्रमा नेपाल टेलिकमको तारवाला फोन पूर्णरुपमा विस्थापित ।

0 39

कृष्ण ढकाल
बर्दघाट,असार–२५

नेपाल टेलिकमले प्रदेश नम्बर ५ मा पहिलो पटक नवलपरासी जिल्लामा पुरानो प्रविधिको तारवाला फोन (पि.एस.टि.एन) लाई फाइबरमा आधारित एफ.टि.टि.एच. सेवाले पूर्णरुपमा विस्थापित गरेको छ ।
नेपाल टेलिकमले प्रदेश नम्बर ५ मा पहिलो पटक नवलपरासी जिल्लाको बर्दघाट शाखा अन्र्तगतका पुरानो प्रविधिको तारवाला फोन (पि.एस.टि.एन) लाई फाइबरमा आधारित एफ.टि.टि.एच. लाई पूर्णरुपमा विस्थापित गरी  आषाढ २४ गते एक कार्यक्रमका विच घोषणा गरेको छ ।

बर्दघाटमा २०५६ साल चैत्र महिनामा १ सय ५० लाइन क्षमताको सि.डट. एक्सचेञ्जबाट टेलिफोन सेवा शुरु गरिएकोमा २०६० सालमा १ हजार क्षमताको जे र्याक प्रणाली जडान गरिएको थियो । २०७२ सालमा ८ सय ९६ लाइन क्षमताको एमसान जडान गरी इन्टरनेट सेवा विस्तार गरेको नेपाल टेलिकमले जनाएको छ । सो पश्चात ग्राहकको अत्यधिक मागका कारण ३ हजार लाइन क्षमताको ओएलटी एक्सचेञ्ज जडान गरीे ०७६ श्रावण २३ गतेबाट अप्टिकल फाइबरमा आधारित एफ.टि.टि.एच. सेवाको वितरण शुरु गरिएको थियो । नयां एक्सचेञ्जबाट ग्राहकले टेलिफोन र इन्टरनेट सेवा उपयोग गर्न सक्दछन् भने कम्पनीले भविष्यमा वितरण गर्ने आइ.पि.टि.भी. सेवा पनि प्राप्त गर्न सक्नेछन् ।

सामाजिक दुरी कायम गर्दै कम्पनीको कार्यालयमा आयोजित एक कार्यक्रममा बर्दघाट नगरपालिका प्रमुख धिरज शर्मा वस्यालले बर्दघाट नगरभित्र अत्याधुनिक दूरसञ्चार सेवा उपलब्ध गराएकोमा नेपाल टेलिकमलाई धन्यवाद दिंदै ग्रामीण भेगमा पनि उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउन अनुरोध गर्नु भएको थियो । उहांले नगरका सबै जनतालाई सञ्चार सेवा उपलब्ध गराउनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक सूर्यनारायण मालाकारले आगामी दिनमा अझ बढी गुणस्तरीय सेवा प्रदान गर्दै निर्देशनालयभित्र पर्ने सबै स्थानहरुमा अत्याधुनिक प्रविधिका दूरसञ्चार सेवाहरु क्रमशः विस्तार गरिने बताउनु भयो ।

नेपाल टेलिकमले मुलुकभरी हालसम्म ७० हजारभन्दा बढी एफटिटिएच लाइन वितरण गरिसकेको छ । प्राविधिक रुपले सम्भव हुने अन्य स्थानहरुमा पनि कम्पनीले सेवाको स्तरोन्नति गर्दै लैजाने जनाएको छ ।

Leave A Reply

Your email address will not be published.