sunwal

फुटबल प्रतियोगिता’को आय–व्यय सार्वजनिक,

527

रामु भुसाल
बर्दघाट, असार २०

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ मा बाढीपीडित क्षेत्रमा आयोजित चौथो अन्तर वडास्तरीय खुल्ला फुटबल प्रतियोगिता ‘वडा अध्यक्ष कप–२०८२/८३’ को आय–व्यय विवरण सार्वजनिक गरिएको छ।

शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको आम्दानी र खर्च सार्वजनिक गरिएको हो।

बर्दघाट–४ वडा कार्यालयको संरक्षकत्व तथा श्री नवजीवन युवा क्लबको आयोजनामा बाढीपीडितस्थित साविक माकर गाविस भवन नजिकको खेलमैदानमा जेठ ९ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको प्रतियोगिताबाट रु. २ लाख ३५ हजार १ सय ८५ बचत भएको छ।

प्रतियोगिताका आर्थिक संयोजक शिव चालिसेका अनुसार प्रतियोगिताबाट रु. ६ लाख २२ हजार ९ सय ३० आम्दानी भएको थियो भने रु. ३ लाख ८७ हजार ७ सय ३५ खर्च भएको र खेल सामग्री, रेफ्री तथा प्राविधिक व्यवस्थापन, पुरस्कार, प्रचार–प्रसार, मञ्च व्यवस्थापन र यातायातलगायत शीर्षकमा गरिएको बताउनु भयो ।

क्लबका अध्यक्ष चित्रबहादुर भण्डारीले वडा नं. ४ स्थित नवजीवन युवा क्लबको संरक्षणमा रहेको खेलमैदानको प्रवर्द्धन, स्थानीय युवालाई खेलकुदमा प्रोत्साहन तथा नगरभित्रका खेलाडीलाई अवसर उपलब्ध गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।

साथै उहाँले प्रतियोगिताबाट बचत भएको रकम सामाजिक तथा विपद् व्यवस्थापनसम्बन्धी कार्यमा उपयोग गरिने जानकारी दिनुभयो।

खेल संयोजक गुप्तबहादुर सारुका अनुसार प्रतियोगिताका लागि बर्दघाट नगरपालिका वडा नं. ४ कार्यालयले रु. ३ लाख सहयोग गरेको बताउदै प्रतियोगितामा विजेता टोलीले रु. ६१ हजार र उपविजेता टोलीले रु. ३१ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए।

उत्कृष्ट खेलाडी, हाई स्कोरर, बेस्ट डिफेन्डर र बेस्ट किपरलाई जनही रु. ३ हजार १ सय तथा अनुशासित टिमलाई रु. ५ हजार १ सय पुरस्कार प्रदान गरिएको थियो।

पत्रकार सम्मेलनमा वडा सदस्य जनक रावलले वडाभित्र रहेका खेल पूर्वाधारको संरक्षण र कानुनी प्रक्रिया पूरा गरी सञ्चालनमा रहेका क्लब तथा खेलमैदानलाई निरन्तर सहयोग गर्दै आएको बताउनुभयो।

प्रतियोगिताले स्थानीय खेल प्रतिभाको विकास, युवाबीच आपसी सद्भाव र खेल संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको उहाँको भनाइ थियो।

प्रतियोगितामा दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो भने बर्दघाट नगरपालिकाभित्रका १६ टोली सहभागी भएका थिए।

नवजीवन युवा क्लब गठन भय संगै क्लबले रक्तदान, लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना, खेलकुद तथा अन्य सामाजिक गतिविधि सञ्चालन गर्दै आएको स्थानीयको दाबी छ।