sunwal

लुम्बिनी समता महिला विद्यालयमा पहिलो पटकमै ६० प्रतिशत विद्यार्थी उत्तीर्ण

741

सुनवल, वैशाख ३१
पश्चिम नवलपरासीको सुनवलस्थित लुम्बिनी समता महिला विद्यालयले यस पटक, एसईई परीक्षाको पहिलो सहभागितामै सानदार नतिजा निकालेपछी अहिले खुसीयाली र उत्साह छाएको छ ।उमेरले नेटो काटिसकेका आमा र बुहारीहरूको अथक मेहनतले पहिलो पटकमै ६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएपछी अहिले यस क्षेत्रमा खुसीयाली र उत्साह छाएको छ ।

सुनवल नगरपालिकाकी नगरप्रमुख बिमला अर्यालले विद्यालयको यो सफलताले नगरकै शिर उच्च बनाएको बताउनुभएको छ। पहिलो पटकको सहभागितामा ७० प्रतिशत नतिजा आउनु निकै सकारात्मक भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “महिलाहरूले इच्छाशक्ति देखाए घर र समाज मात्र होइन, शिक्षाको मैदानमा पनि उत्कृष्ट नतिजा ल्याउन सक्छन् भन्ने यो बलियो प्रमाण हो। यो नतिजाले हामीलाई उहाँहरूको शैक्षिक विकासमा थप लगानी गर्न हौसला मिलेको छ।”

विद्यालयका अनुसार यस वर्ष पहिलो पटक एसईई परीक्षामा ७ जना महिला परीक्षार्थीहरू सहभागी भएका थिए। जसमध्ये ४ जना विद्यार्थीहरू सफलताका साथ उत्तीर्ण भएका छन् भने ३ जनाको केही विषयमा (विषय लागेको) पुन परीक्षा दिनुपर्ने भएको छ ।

यस विद्यालयमा अध्ययन गर्ने महिलाहरूको उमेर समूह १८ वर्षदेखि ७० वर्ष सम्म रहेको छ । विशेष गरीबिचमै पढाइ छाडेका छोरीहरू ,घरायसी जिम्मेवारीमा बाँधिएका बुहारीहरू नाति-नातिना खेलाउने उमेरका आमाहरू अध्ययन छन् ।

हाल कक्षा ४ देखि १० सम्म पढाइ हुने यस सामुदायिक विद्यालयमा १०० जना महिलाहरू अध्ययनरत छन्। मात्र ६ जना शिक्षकहरूको सीमित स्रोत र साधनका बावजुद विद्यालयले देखाएको यो नतिजालाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।

विगतमा विभिन्न कारणले विद्यालय जान नपाएका वा पढाइ बिचमै छोड्न बाध्य भएका महिलाहरूका लागि यो विद्यालय आशाको केन्द्र बनेको छ । आमा र बुहारीहरूले किताब-कापी बोकेर विद्यालय जाँदा सुरुका दिनमा अचम्म मान्ने समाजले अहिले उनीहरूको सफलतामा ताली बजाउन थालेको छ।
पहिलो प्रयासमै करिब ६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएपछि विद्यालय परिवार र स्थानीय समुदाय हर्षित भएका छन्। विद्यालयकी प्रधानाध्यापक राधिका रोका भन्नुहुन्छ, “सिक्नका लागि उमेरले रोक्दैन भन्ने उदाहरण हाम्रा आमाहरूले प्रमाणित गरिदिनुभएको छ। यो नतिजाले हामीलाई आगामी दिनमा अझै ऊर्जा थपेको छ।”