Bardaghat Na pa

खानेपानी संस्थाहरुले पैसा बचत गरेर राख्ने हैन,पाईपलाईन विस्तार गर्नुस ः नगरप्रमुख श्रेष्ठ

501

कृष्ण ढकाल
बर्दघाट माघ– १७
खानेपानी संस्थाहरुले पैसा बचत गरेर राख्नु भन्दा उपभोक्ताहरुको घरघरमा पुग्नेगरी पाइपलाईन विस्तारमा जोड दिन बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले आग्रह गर्नु भएको छ । बेलाहानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था,बर्दघाट ७ वेलाहानीको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिबेशनलाई सम्वोधन गर्दै नगरप्रमुख श्रेष्ठले उक्त कुरा बताउनु भएको हो ।
संस्थाले रकम खातामा संकलन गरेर राख्ने भन्दा पनि उपभोक्ताहरुलाई सेवा दिनका लागि रकम खर्चगर्दा कुनै समस्या नहुने धारणा ब्यक्त गर्नु भएको थियो । उहाँले बर्दघाट नगरपालिकालाई “एक घर,एक धारा” भएको नगर बनाउने उद्देश्यले नेपाल सरकारसँग सशर्त बजेट मागगरी खानेपानीका पाइप, उपकरण तथा धारा जडानको क्षेत्रमा कामगर्ने गरिने योजना अघि बढाएको समेत जानकारी गराउनु भयो ।

बेलाहानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष बृहस्पति अधिकारीको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले वेलाहानी खानेपानी संस्थाले पहिलेको भन्दा अहिले आफ्नो गति बढाएको बताउदै संस्थाले पैसामा भन्दा आफ्नो सेवामा जोड दिनु पर्ने धारणा राख्नु भएको थियो । त्यसैगरी संस्थाले खानेपानी सुरक्षा योजनालाई थपप्रभावकारी ढंगवाट अघिबढाउन जरुरी रहेको बताउनु भयो । उहाँले स्वच्छ खानेपानी पिउन पाउने नागरिकको अधिकार रहेको बताउदै सो अधिकार पुरा गर्न सबै सरोकार वालाको सहकार्यबाट मात्र सम्भव हुने धारणा ब्यक्त गर्नु भएको थियो ।

संस्थाका सचिव दिपक पोख्रेलको सञ्चालन रहेको कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिका वार्ड नम्बर १ का वडा अध्यक्ष सन्दीप सापकोटाले पहिले खोला र घोलाको पानी खाने गरेका स्मरण गराउर्दै अहिले शुद्ध खानेपानी पाएको खुशी ब्यक्त गर्नु भयो । सेवा विीतारमा केहि निति ,बिधि र कानुनि झन्झट तथा भुगोलका कारण सबै वडा बासिलाइ शुद्ध खानेपानी पुराउन नसकेको बताउनु भयो।

सो अवसरमा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ प्रदेश समिति सदस्य एवं बर्दघाटखानेपानी संस्थाका अध्यक्ष दिपक लम्सालले बेलाहानी खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाले खानेपानी सुरक्षा योजनामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनु भयो । गुणस्तरीय खानेपानी मुहानदेखि उपभोक्ताको मुखसम्म पुर्‍याउनुपर्ने उल्लेख गर्दै उहाँले खानेपानी सुरक्षा योजनामार्फत शुद्ध पानी आपूर्ति गर्ने कार्यक्रम अघि बढाउन आग्रह गर्नुभयो।

बेलाहानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था,बर्दघाट ७ वेलाहानीको चौथो वार्षिक साधारण सभामा उठेका केहि प्रश्नहरुको सम्वोधनगर्दै संस्थाका अध्यक्ष  बृहस्पति अधिकारीले शुद्ध पानी वितरणप्रति संस्था प्रतिबद्ध रहेको र चालु आर्थिक वर्षमा फिल्टर जडान गर्ने तयारी भइरहेको बताउनु भयो । संस्थामा केहि रकम बचत रहेको प्रति सबैको ध्यान केन्द्रित भएको भएपनि उक्त रकम संस्थाको भैपरि आउने खर्चमा खर्चगर्नका लागि राखिएको अध्यक्ष अधिकारीले बताउनु भयो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष कृष्ण प्रसाद सापकोटाले संस्थाको २ करोड ३८ लाख १३ हजार २ सय ५१ रुपैयाँ बराबरको आय व्यय विवरण प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत आर्थिक प्रतिबेदनमा सस्थाले १३ लाख ९८ हजार ७ सय ५ रुपैयाँ बचत रहेको बताउनु भयो ।

लेखा सुपरिवेक्षण समितिका संयोजक चन्द्र प्रसाद ढकालले लेखाको सिद्धान्तअनुसार हिसाबकिताब राखिएको र संस्था पारदर्शी रूपमा अघि बढिरहेको उल्लेख गर्नुभयो। संस्थाका उपाध्यक्ष जिवनाथ पौड्यालको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्रस्तुत सम्पुर्ण प्रतिबेदन सर्वसम्मत पारित गरेको छ भने अधिबेशनका लागि आउदो चैत १ गते देखि शुरु गर्ने गरि अधिवक्ता राम कृष्ण पौडेलको सम्योजकत्वमा ३ सदस्यीय निर्वाचन मण्डल गठन गरि जिम्मेवारी प्रदान गरेको छ।
२०६६ सालमा स्थापना भएको र २०७७ साल देखि पानी बितरण गरेको बेलाहानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले हालसम्म करिब १ हजार ९ सय ३९ घरधुरीमा धारा जडान गरिसकेको छ । अहिले ३ वटा डिपबोरिङ मार्फत आफ्ना उपभोक्तालाइ २४सै घण्टा खानेपानी बितरण गरि रहेको छ।