Bardaghat Na pa

जिल्ला प्रशासन मार्फत सरकारलाई विरोधपत्र

505

परासी ,चैत्र-१५

नेकपा एमाले पश्चिम नवलपरासीले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउप्रति असन्तुष्टि जनाउँदै जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई विरोधपत्र बुझाएको छ ।

एमाले जिल्ला कमिटी नवलपरासीको आयोजनामा जिल्ला पार्टी कार्यालय परासीमा भेला भएका एमाले कार्यकर्ताहरुले र्यालीसहित सरकार विरुद्ध नाराबाजी गर्र्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल मार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउँदै ओलीलाई तत्काल रिहाइ गर्न माग गरेका हुन् ।

भदौ २३ र २४ को जेनजी प्रदर्शनको घटनाको छानविन गर्न बनेको गौरीबहादुर कार्की आयोगले दोषी देखाएको भन्दै अध्यक्ष ओलीलाई शनिबार विहानै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । पार्टी अध्यक्ष ओलीलाई सरकारले प्रतिशोधपूर्ण र गैरकानूनी तरिकाले पक्राउ गरेकोले विरोध गर्नुपरेको एमाले जिल्ला अध्यक्ष दीपेन्द्र कुमार अधिकारीले बताउनुभयो ।

जेनजी आन्दोलनबारे पूर्वाग्रहीपूर्ण प्रतिवेदन बनाएर सरकारले गैरकानूनी रुपमा अध्यक्ष ओलीलाई पक्राउ गरि थुनामा राखेकोले एमाले सडक संघर्षमा उत्रिन बाध्य भएको पार्टीका जिल्ला सचिव धीरज बस्यालले बताउनुभयो ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै एमाले केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज सरिता खनालले सरकारले दुई तिहाइको दम्भमा प्रतिशेध साध्ँने काम गरेको भन्दै तत्काल गल्ती नसच्चाए थप आन्दोलन चर्काउने चेतावनी दिनुभयो ।

उक्त अवसरमा एमालेका केन्द्रीय सदस्यहरु बिमला अर्याल, लक्ष्मी क्षेत्री,केन्द्रिय सल्लाहकार खिमलाल पोरखेल,प्रतिनिधिसभा सदस्य रिंगला यादव, प्रदेश सदस्य तथा जिल्ला कमिटीका पदाधिकारी एवं कार्यकर्ताहरुको सहभगिता रहेको थियो ।