कृष्ण ढकाल
बर्दघाट,कार्तिक–१४
बर्दघाट नगरपालिका वडा नं. ४,बाढीपिडित चोकमा रहेको मानवनिर्मित “जलदेवि सिमसार” अहिले सुन्दर र आकर्षित हुदैगएको छ ।
तालमा भरीभराउ पानी र त्यसमाथी राताम्वे भएर फुलेका कमलका फुलहरुले सिमसारको सुन्दरतालाई थप रौनक्ता दिएको छ । हुन त त्यहाँ सेता कमलका फुलहरु र हरियाली सहित दाउन्ने पहाडको छायाँ चित्र सिमसारको पानीमा देख्न पाईन्छ ।
२०७६ सालबाट जलदेवि सिमसार” निमार्णगर्न शुरु गरीएको उक्त क्षेत्रमा अहिले करिव ७ विघा क्षेत्रफलमा सिमसार फैलिएको सिमसार निर्माण समितिका अध्यक्ष राजबहादुर पाण्डेको भनाई छ । जहाँ जमीन लुक्दैन, जहाँ पानी सुक्दैन भने झै “जलदेवि सिमसार” क्षेत्र सदावहार चिस्यान अर्थात रसिलो जमीन भएको क्षेत्र भएकै कारण त्यस स्थानमा स्थानियवासी र सरोकारवालाहरुको सुझावका आधारमा सिमसार निमार्ण गरीएको निर्माण समितिका अध्यक्ष राजबहादुर पाण्डेले बताउनु भएको छ ।

मानवनिर्मित “जलदेवि सिमसार”मा बर्दघाट नगरपालिका र लुम्बिनी प्रदेश सरकारबाट गरी अहिले सम्म ३० लाख रुपैया लगानी भैसकेको छ । सिमसारको सफाई गर्ने र स्थानिय सरकारले ध्यान दिनेहो भने “जलदेवि सिमसार” नमुना बन्नेमा आफु विश्वस्त रहेको सिमसार निर्माण समितिका उपाध्यक्ष भिमबहादुर कुंवरको भनाई रहेको छ ।
बाढीपिडितको मात्र नभै बर्दघाटको मुहारफेर्न सक्ने सम्भावना रहेको “जलदेवि सिमसार” वरीपरी फलफुलका विरुवा लगाउने देखि बाल–बाटिका निमार्ण गर्ने र बोटीङ सञ्चालन गर्ने काम गर्नु पर्ने स्थानियवासीहरुको भनाई रहेको छ ।
सिमसार निर्माण गरेपछि बाढीपिडित,बण्डाखोला तथा बिधुत क्षेत्रका जमिनहरुमा प्रकृतिको मृगौला रुपि सिमसारले जल परिचालन र शुद्धीकरण प्रक्रियामा सहयोग पुग्ने विश्वास लिन सकिन्छ ।
त्यति मात्र हैन माथी जंगलबाट बगेर आएको सतहको भल “जलदेवि सिमसार”मा मिसिएपछि जंगलबाट बगाएर ल्याएका रासायनिक पौष्टिक तत्त्वहरू समेत सिमसारले सोसेर लिने र सिमसारमा भएका माछा लगायतका जलचरलाई प्रशस्त आहार प्राप्त हुने हुदाँ जलचरप्राणीहरुको समेत वृद्धि हुने हुन्छ । त्यसैले सिमसार भएरमात्र हुदैन आन्तरीक तथा वाहिय पर्यटक आउनका लागि सिमसारको सौन्दरीकरण गर्न जरुरी छ ।
 
			

