हरि शर्मा
परासी,भदौ–३०
नवलपरासी जिल्लामा भएको जेनजी प्रदर्शनका क्रममा २० वटा सरकारी गाडीलाई जलाएर ध्वस्त बनाइएको छ । प्रदर्शनका क्रममा २७ वटा सरकारी संरचनामा आगजनी र तोडफोड भएको छ ।
जिल्लामा भएको क्षति विवरण संकलन गर्न गठन भएको क्षति मूल्याङ्कन समितिले जिल्लाभर स्थानीय तहसहित अन्य सरकारी कार्यालयमा संकलन गरेको विवरणमा ३० वटा सवारी साधनमाथि क्षति भएको जनाएको छ । ध्वस्त भएका सरकारी सवारी साधनसँगै कार्यालयमा कर्मचारीले राखेका २ वटा निजी मोटरसाइकल पनि जलाएर ध्वस्त बनाइएको छ । अन्य ९ वटा सवारी साधनमाथि तोडफोड भएको छ ।
ध्वस्त भएका सवारी साधनमा रामग्राम नगरपालिकाको १ गाडी र २ मोटरसाइकल, सुस्ता गाउँपालिकाको १ गाडी, सरावल गाउँपालिकाको २ मोटरसाइकल, बर्दघाट नगरपालिकाको ५ वटा मोटरसाइकल रहेका छन् । त्यसैगरी प्रतापपुर गाउँपालिकाको गाडी र ३ वटा मोटरसाइकललाई जलाएर ध्वस्त बनाइएको छ । जिल्ला समन्वय समितिमा २ वटा मोटरसाइकल जलेर ध्वस्त भएका छन् । जसमा एक जना कर्मचारीको रहेको छ ।
सरकारी वकील कार्यालयको १ गाडी र १ मोटरसाइकल तथा त्यहाँ राखिएको कर्मचारीको १ मोटरसाइकल पनि जलेर ध्वस्त भएको छ भने करदाता सेवा कार्यालयका २ मोटरसाइकल पनि जलाएर ध्वस्त बनाइएको छ । तोडफोड भएका सवारी साधनमा बर्दघाट नगरपालिकाको दमकलसहित ७ वटा सवारी साधन र पाल्हीनन्दन गाउँपालिकाको टेक्टरमा तोडफोड गरी क्षतिग्रस्त बनाइएको छ । प्रदर्शनका क्रममा जिल्ला प्रशासन कार्यालयमा राखिएको नेपाली सेनाको गाडीसमेत क्षतिग्रस्त भएको छ ।
सरकारी कार्यालयअन्तरगत जिल्लामा भूमि समस्या समाधान आयोग, राष्ट्रिय आवास कम्पनी, जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, बासा र परासीस्थित प्रहरी बिट,कारागार कार्यालय (कैदीबन्दीद्धारा)सरावलस्थित २ वटा अतिरिक्त हुलाक कार्यालय र केही वडा कार्यालयमा पनि तोडफोड र आगजनी भएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी पोषन राज भण्डारीको संयोजकत्वमा गठित समितिले शनिबारदेखि विवरण संकलन गर्न सुरु गरेको हो । समितिले पहिलो चरणमा स्थानीय तह र सरकारी कार्यालयको विवरण संकलन गरेको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिनुभयो । ‘अहिले क्षतिको विवरण मात्र संकलन भएको छ । त्यसको मूल्याङ्कन हुन बाँकी छ क्रमशः गर्दै छौं । ’ भण्डारीले भन्नुभयो ।
व्यक्ति र अन्य संस्था तथा प्रतिष्ठानहरुमा भएको क्षतिका लागि सम्बन्धित पालिकाको रोहबरमा स्थानीय प्रहरीले मुचुल्का तयार गरी विवरण संकलन गरिरहेको उहाँले जानकारी दिनुभयो । त्यसका लागि सम्बन्धित पीडितसँग निवदेनसमेत माग गरिएको छ । भदौ २४ गते भएको प्रदर्शनका क्रममा जिल्लामा झन्डै ६३ वटा तोडफोड र आगजनीका घटना भएका छन् ।
( तस्विरहरू कृष्ण ढकाल )