sunwal

लायन्स क्लब अफ नवलपरासी बर्दघाटकाे पहलमा सद्भाव र्‍याली निकालियो

561

कृष्ण ढकाल
बर्दघाट,साउन–१७

बर्दघाट नगरक्षेत्रको धार्मिक सहिष्णुता, सामाजिक एकता र राष्ट्रिय सद्‌भावको सन्देश दिन​ लायन्स क्लब अफ नवलपरासी बर्दघाटले आज सद्भाव र्‍याली निकालेको छ ।

दुई समुदायबिच भएको हिंसात्मक झडपले सुनसरी लगाएतका जिल्लाहरुमा धार्मिक सहिष्णुता र सामाजिक एकतामा खल्बल हुन थाले पछि बर्दघाट क्षेत्रमा त्यसको कुनै असर नरहेको र देशमा पनि हुन नहुने भन्दै लायन्स क्लब अफ नवलपरासी बर्दघाटले सद्भाव र्‍याली निकालेको लायन्स क्लब अफ नवलपरासी बर्दघाटकी अध्यक्ष सुधा ज्ञवालीले बताउनु भएको छ ।

बर्दघाटको त्रिवेणी चोकमा हिन्दु,मुस्लिम,ईसाई,हरेकृष्ण लगाएतका बिभिन्न जात र धर्मका मानिसहरु जम्मा भएर एकसाथ शुरु भएको उक्त सद्भाव र्याली नेपाली झण्डा र प्लेकार्ड सहित राष्ट्रिय एकता र सद्भावको सन्देश दिने गरी बिभिन्न नाराहरु लगाउदै त्रिवेणी बसपार्क,नगरपालिका ,पाँचकुने हुदै बर्दघाट बजारमा आएर कोणसभामा परिणत भएको थियो ।

विभिन्न समुदायका नागरिकको सहभागितामा रहेको उक्त शान्तिपूर्ण सद्भाव र्‍यालीको कोण सभामा मुस्लिम समुदायका नेतृत्व कर्ता करिम खान,हिन्दु समुदायका पंडित खेमनाथ गुरु र ईसाई समुदायका पास्टरले सम्बोघन गर्दै आफ्नो समाजको विविधता बिचको एकतालाई अझ मजबुत बनाउँदै शान्ति र भाइचाराको भावना कायम राख्नुपर्नेमा जोड दिएका थिए ।
लायन्स क्लब अफ नवलपरासी बर्दघाटकी सचिव कविता रेग्मीको सञ्चालन रहेको उक्त कोण सभामा बोल्दै अध्यक्ष ज्ञवालीले सामाजिक सद्भाव र आपसी भाइचारा विनाको समाजको परिकल्पना गर्न नसकिने भएकाले सबै समुदाय मिले बस्नु पर्ने बताउनु भएको थियो ।
सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्न लायन्स क्लब अफ नवलपरासी बर्दघाटले आयोजना गरीएको कार्यक्रममा सहभागि भएर कार्यक्रम सफल बनाएको प्रति सम्पूर्ण उपस्थित महानुभावहरूलाई धन्यवाद प्रकट समेत गर्नु भएको थियो ।

‘सद्‌भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति ’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दे र्‍यालीमा सहभागि ब्यक्तिहरुले बिभिन्न प्रकारकाले राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने प्लेकार्ड र राष्ट्रिय झण्डाहरु लिएर सद्भाव र्‍यालीमा सहभागि हुनु भएको थियो ।