sunwal

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन

543

साउन -११

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन भएको छ। रुपन्देहीलाई कर्मथलो बनाएर पत्रकारिता गर्दै आउनु भएका अग्रज पत्रकार अर्जुन ज्ञवालीको उपचारको क्रममा काठमाण्डौमा निधन भएको हो।

तिलोत्तमाको शंकरनगरका स्थायी बासिन्दा ८० वर्षिय ज्ञवालीको पछिल्लो केहीसमय यता मुटु र फोक्सोमा समस्या देखिएपछि काठमाडौंको बी एण्ड बी अस्पतालमा उपचार गराई रहनु भएको थियो।

आईतवार राती ८ :४० बजे उपचारका क्रममा अस्पतालमा निधन भएको उहाका छोरा सागर ज्ञवालीले बताउनु भयो।

अर्घाखांचीको साविक चिदिकाबाट रुपन्देही बसाई सराई गर्नुभएका ज्ञवाली शान्ति नमूना माविमा नेपाली विषयको शिक्षक समेत हुनुहन्थ्यो। शिक्षण पेशा संगै ज्ञवालीले लामो समयसम्म पत्रकारितामा बिताउनुभएको छ। उमेरले ८ दशक पार गर्दाम्म पनि ज्ञवाली लेखनमा सक्रिय हुनुहुन्थ्यो।

खासगरी राष्ट्रियता र देशभक्तिको पक्षमा कलम चलाउने ज्ञवाली  लुम्बिनी सन्देश साप्ताहिकको सम्पादक भएर समेत काम गर्नु भएको थियो। पत्रकारिताको प्रशिक्षक समेत रहेका ज्ञवालीका लेखहरु बुटवलबाट प्रकाशन हुने छापा तथा अनलाईन सञ्चार माध्यममा प्रकाशित हुने गर्दथे। सरल भाषामा लेखन शैलीका कारण उहांका लेख रचनाहरु पाठकका लागि रुचिकर हुने गर्दथे।

ज्ञवालीले पत्रकारितालाई जनताको आवाजलाई शब्द दिने, आन्दोलनको धड्कन सुन्ने, राज्यका निर्णयमाथि प्रश्न उठाउने र समाजका घाउलाई अक्षरमार्फत् उजागर गर्ने साहसिक यात्रा भएको बताउनु हुन्थ्यो। पञ्चायतकालीन शासनको कठोर परिवेशदेखि भारतमा सिकेको पत्रकारिता, जनआन्दोलन, महाकाली सन्धि, माओवादी द्वन्द्व हुँदै लोकतान्त्रिक आन्दोलनसम्मका ऐतिहासिक घटनाक्रमका बारेमा ज्ञवालीले जनपक्षीय कलम निरन्तर चलाइरहनुभयो।

ज्ञवालीले २०२४ सालदेखि पत्रकारिता शुरु गर्नुभएको थियो। पत्रकारिताका दौरान ज्ञवाली  एकैचोटि रिपोर्टर,  प्रुफ रिडर र सम्पादक पनि हुनुहुन्थ्यो अर्थात समाचार लेख्ने, शुद्धाशुद्धी  मिलाउने, सम्पादकीय लेख्ने र पत्रिका बाँड्ने काम पनि आफैले गर्नुहुन्थ्यो।

पत्रकारितासँगै साहित्यिक संगतले पनि उहांको व्यक्तित्व र लेखनशैलीलाई परिष्कृत बनाएको थियो।  विशेषगरी साहित्यकार / पुर्व एमाले नेता मोदनाथ प्रश्रित सँगको निकटताले उहांको भाषामा सरलता र प्रभावशीलता थपिएको ज्ञवालीलाई नजिकबाट चिनेकाहरु बताउंछन्।  ज्ञवालीको पत्रकारिता यात्राको सबैभन्दा महत्वपूर्ण मोडमध्ये एक महाकाली सन्धि थियो। त्यो सन्धिप्रति उहां आलोचक हुनुहहुन्थ्यो।  त्यस विषयमा उहांले निरन्तर लेख्नुभयो।

महाकाली सन्धिबारे लेखिएको उहांको चर्चित सामग्री बुलको पर्व शीर्षकमा प्रकाशित भएको थियो। ज्ञवाली विशेषगरी भुइँमान्छेको स्वर बाहिर ल्याउन चाहनुहुन्थ्यो।  जसको आवाज कसैले सुन्दैन, तिनका समस्या उजागर गर्ने काममा उहांको बढी रुचि रह्यो।

पत्रकारिता यात्राका क्रममा उहांले नेपाल पत्रकार महासंघ बाट प्रदान गरिने प्रेस स्वतन्त्रता सेनानी सम्मान, पत्रकार महासंघको रुपन्देही उत्कृष्ट पत्रकारिता पुरस्कार, नेपाल सरकारको वरिष्ठ पत्रकार सम्मान, गोपाल गोतामे स्वर्ण पदक तथा लुम्बिनी प्रदेश सरकारबाट प्रदान गरिएको सामाजिक सेवा पदकलगायत दर्जनौँ सम्मान पाउनुभएको छ।

ज्ञवालीको पत्रकारिता यात्रा र सरल जीवन शैली एक व्यक्तिको जीवनी मात्र होइन, नेपाली मोफसल पत्रकारिताको संघर्ष, साहस र समाज परिवर्तनको इतिहास पनि हो।

स्वर्गीय ज्ञवालीका एक श्रीमती,एक छोरी र दुई छोरा तथा ६ जना नातिनातिना छन्। स्वर्गीय ज्ञवालीको आज सोमबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।

आदरणीय पत्रकार अर्जुन ज्ञवाली प्रति भावपुर्ण श्रद्धान्जली परिवारमा समवेदना ।

@ समय चक्रबाट