कृष्ण ढकाल
बर्दघाट,असार–१३
बर्दघाट नगरपालिका विरुद्ध अदालतमा यो बर्ष ६ वटा मुद्धा परेकोमा सबै मुद्धाहरु किनारा लागेर अहिले शुन्य अवस्थामा रहेको बर्दघाट नगरपालिकाका कानुनी सल्लाहकार थिरलाल पराजुलीले बताउनु भएको छ ।
बर्दघाट नगरपालिकाको न्यायिक समिति अन्र्तगत रहेको मिलमिलाप कर्ताको तेस्रो चौमासिक बैठकमा बोल्दै कानुनी सल्लाहकार पराजुलीले उक्त जानकारी गराउनु भएको थियो ।
बर्दघाट नगरपालिकाका उप–प्रमुख तथा न्यायिक समितिका संयोजक रुद्रप्रकाश उपाध्यायको अध्यक्षता र नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको बैठकलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले नगरका सबै वडाहरुमा मेलमिलाप कर्ताहरुको कार्य सम्पादनमा सहयोग पुग्नेगरी भौतिक संरचनालाई ब्यवस्थीत गर्ने तर्फ नगरको ध्यान केन्द्रित भएको र बजेटको समेत ब्यवस्था गरिने जानकारी गराउनु भएको थियो ।
त्यसैगरी उप–प्रमुख रुद्रप्रकाश उपाध्यायले जिल्लका अरु पालिकामा भन्दा बर्दघाट नगरपालिकामा मिलमिलाप कर्ताहरुले गरेका काम प्रभावकारी रहेको बताउनु भएको थियो । नगरका कुनै पनि स्थानहरुबाट आउने समस्याहरुलाई उत्कृष्ट रुपमा न्याय दिलाउन र मिलमिलाप गराउन बर्दघाट नगरपालिका अग्रस्थानमा रहेको कुरा कार्य सम्पादनको परिणमले देखाएको पाध्यायको भनाई रहेको थियो ।
बैठकमा सहभागिहरुले पालैपालो रिपोटिङ्ग गर्ने क्रममा मिलमिलाप कर्ताहरु प्रति हेर्ने दृष्टिकोण र प्रभावकारीता पहिले जस्तो अहिले नभएको बताएका थिए । राजनितिक प्रभाव र दवावले गर्दा मिलमिलापको महत्व घटेर जानलागेको चिन्ता ब्यक्त गरेका थिए ।
अहिले सम्म नगरका बिभिन्न वडाहरुवाट आएका समस्याहरुलाई नगर स्तरीय मेलमिलापकर्ताहरुले छलफल गराएर छुङ्गाउने र टुङ्गाउन नसकेमा नगरको न्यायिक समितिमा पठाउने गरेको मेलमिलाप नगर समन्वय समितिका संयोजक तोलाकान्त चापागाईले बैठकमा जानकारी गराउनु भएको थियो ।
कार्यपालिका सदस्य मञ्जु चालिसे,वडाध्यक्ष बिमला गुरुङ,का.ब. प्रमुख प्रशासकिय अधिकृत पुष्कर काफ्ले,लेखा अधिकृत विष्णुलाल पुरी लगाएतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन उजुरी प्रशासक जमुना न्यौपानेले गर्नु भएको थियो ।