कल्पना खरेल
सुनवल , असार ६
पश्चिम नवलपरासी सुनवल नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि करिब १ अर्वकाे बजेट पारित गरेकाे छ । शुक्रबार सम्पन्न १७ ओै नगरसभाले ९९ करोड ९८ लाख रुपैयाँको बजेट पारित गरेको हाे।
नगर प्रमुख विमला अर्यालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई विशेष प्राथमिकतामा राखिएकाे बताउनुभयो। नगरसभाले ” मेयर केयर कार्यक्रम, पाेषणमैत्री नगर घाेषणा, महिलामैत्री सहर निर्माण, १५ सैयाकाे नगर अस्पताल निर्माण , वडा नम्बर ८ मा ५ शैयाको अस्पताल, घुम्ती भिडियो एक्सरे , मृगौला डायलाइसिस सेवा, नगरकाे बजार क्षेत्रमा सिसिटिभी जडान र फ्रि वाइफाईकाे व्यवस्था ,नमुनाबस्ति लगाएतका नयाँ कार्यक्रमहरू ल्याएकाे छ ।
त्यसैगरी स्वास्थ्य स्वयंसेविकाकाे मासिक ४ हजार भत्तालाई बढाएर मासिक ५ हजार भत्ता बनाएकाे छ भने अवकाश पश्चात् २ लाख दिदै आएकाेमा १ लाख थप गरि ३ लाख पुर्याइएकाे छ ।
नगर उपप्रमुख सूर्यप्रसाद दुबेले बजेट प्रस्तुत गर्दै कूल बजेटमध्ये ४७ दशमलव ६१ प्रतिशत चालुतर्फ र ५२.३९ प्रतिशत पुँजीगततर्फ विनियोजन गरिएको जानकारी दिनुभयो। बजेट अनुसार संघीय सरकारबाट ४६ करोड, प्रदेश सरकारबाट ३ करोड ७० लाख ३३ हजार, राजस्व बाँडफाँडबाट ४१ करोड २७ लाख ६७ हजार र आन्तरिक स्रोतबाट ९ करोड आम्दानी हुने अनुमान गरिएको छ।
बजेट विनियोजनमा सामाजिक विकासतर्फ ३५ करोड ११ लाख, आर्थिक विकासमा ५ करोड ४३ लाख ५० हजार, पूर्वाधार विकासमा ३६ करोड २१ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २ करोड ५४ लाख ५० हजार, र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ २० करोड ७७ लाख रुपैयाँ छुट्याइएको छ।
नीति तथा कार्यक्रमले समावेशी, समानुपातिक र जनसहभागितामूलक कार्यक्रममार्फत ” समृद्ध नगर, सुखी नगरवासीको” संकल्प पुरा गर्ने लक्ष्य लिएको छ। संघ, प्रदेश र निजी क्षेत्रसँग सहकार्य गर्दै दिगो विकास लक्ष्य (SDGs) पुरा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
यो बजेट अघिल्लो वर्षको तुलनामा करिब ३ करोडले कम हो। गत वर्ष नगरपालिकाको बजेट १ अर्ब एक करोड ६३ लाख ४९ हजार रहेकाे थियो।
नगर प्रमुख अर्यालले स्थानीय सरकार जनताकाे साथमा र जनताकाे बिच रहेर एकबद्व भएर काम गर्न तयार रहेकाे बताउनुभयाे ।