लोकहरि पाण्डे
बर्दघाट, जेठ २२
५४ औँ विश्व वातावरण दिवस एवम् २७ औँ राष्ट्रिय सरसफाई सप्ताहको अवसर पारेर बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बर्दघाटको डाँडाटोलमा फलफूलका बिरुवा रोपेको छ ।
संस्थाले ५४ औँ विश्व वातावरण दिवसका अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत आज पहिलो दिन बर्दघाट–४ स्थित डाँडाटोल सामुदायिक भवन परिसरमा फलफूलका बिरुवाहरू रोपिएको संस्थाका अध्यक्ष दिपक लम्सालले बताउनु भएको छ । हरियाली प्रवर्द्धनका लागि वृक्षरोपण कार्यक्रम गरीएको अध्यक्ष लम्सालको भनाई रहेको छ ।
सप्ताहव्यापी कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बढ्दो सहरीकरण र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि वृक्षरोपण र सरसफाइ अभियानलाई टोल –टोलमा पुर्याउनुपर्ने बताउनुभयो। उहाँले नगरको पर्यावरण स्वच्छ राख्न स्थानीय उपभोक्ता संस्थाहरूको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो।
त्यसैगरी विशिष्ट अतिथि एवं निवर्तमान नगर प्रमुख धीरज शर्मा बस्यालले विगतका राम्रा प्रयासहरूलाई निरन्तरता दिँदै पर्यावरण संरक्षणमा सबै नागरिक स्वतस्स्फूर्त रूपमा लाग्नुपर्नेमा जोड दिनुभयो।
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दीपक लम्सालको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थाका उपाध्यक्ष कमल थापा, बर्दघाट–४ का वडाध्यक्ष वेदविना तिवारी र सल्लाहकार रविन्द्र विक्रम हमाल लगायतले आ–आफ्नो धारणा राख्दै पानीको मुहान संरक्षण र स्वच्छ वातावरणका लागि रुख बिरुवाको महत्त्वबारे प्रकाश पार्नुभएको थियो।
सप्ताहव्यापी सरसफाइ अभियानको पहिलो दिन आयोजित उक्त वृक्षरोपण कार्यक्रममा स्थानीय टोल विकास संस्थाका प्रतिनिधि, आमा समूह, स्थानीय बासिन्दा, संस्थाको कार्यसमिति, लेखा समिति, खानेपानी सुरक्षा योजना टोली, सरसफाइ समिति तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो। संस्थाले आउँदा दिनहरूमा पनि सरसफाइ र वातावरण सचेतना सम्बन्धी अन्य कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।
