लोकहरि पाण्डे
बर्दघाट, जेठ २१
बर्दघाट नगरपालिका वडा नम्बर ४ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ‘स्वास्थ्य सेवा र सुविधाहरुको बारेमा सामाजिक लेखा परीक्षण कार्यक्रम’ सम्पन्न भएको छ। वडा नम्बर ४ का वडाध्यक्ष वेधविना तिवारीको अध्यक्षता तथा नगर प्रमुख शम्भुलाल श्रेष्ठ काे प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो।
१६ हजार ८ सय ५२ जनसंख्या रहेको यस वडाका नागरिकलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा सेवा प्रवाहको अवस्था र आगामी योजनाबारे विस्तृत छलफल भएको थियो।
कार्यक्रममा नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यय,बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष, उद्योग वाणिज्य सङ्घका अध्यक्ष , विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन कुस्माकर ढकालले गर्नुभएको थियो।
सामाजिक लेखा परीक्षणका क्रममा सेवाको वस्तुस्थिति र नागरिकको प्रतिक्रिया समेटेर कुस्माकर ढकालले विशेष छायांकन (भिडियो) प्रस्तुत गर्नुभएको थियो। सो छायांकनमार्फत सर्वसाधारणले भोगेका समस्या र गुनासोहरू कार्यक्रममा प्रत्यक्ष सुनाइएको थियो। उपस्थित आम नागरिक तथा सरोकारवालाहरूले स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामग्री र औषधिहरूको पर्याप्त उपलब्धता हुनुपर्नेमा विशेष जोड दिएका थिए।
सर्वसाधारणका जिज्ञासा र गुनासोहरूको सम्बोधन गर्दै नगर स्वास्थ्य अधिकृत कृष्णहरि पौडेलले सीमित स्रोत र साधनका बाबजुद पनि स्वास्थ्य चौकीबाट आम नागरिकलाई भरपूर सेवा-सुविधा प्रदान गरिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार नगरपालिकाको सहयोगमा हाल स्वास्थ्य केन्द्रबाट करिब ९८ प्रकारका औषधिहरू निःशुल्क रूपमा वितरण भइरहेका छन्। दरबन्दीमा ३ जाना मात्र कर्मचारी रहे पनि अन्य स्वास्थ्य चौकीबाट ३ जना थप गरी ६ जना पुर्याइएको छ।
अधिकृत पौडेलले सेवा विस्तारबारे थप प्रष्ट पार्दै स्वास्थ्य केन्द्रबाट प्रत्येक वर्ष नगरपालिकाको सहयोगमा पाठेघरको मुखको क्यान्सर परीक्षण (VIA जाँच) सेवा दिइँदै आएको र आउँदो दिनमा छाला सम्बन्धी जाँच सेवा समेत सुरु गर्न लागिएको जानकारी दिनुभयो। साथै, केन्द्रमा २१ प्रकारका ल्याब (प्रयोगशाला) परीक्षणको व्यवस्था मिलाइएको विषय समेत उहाँले कार्यक्रममा जोड्नुभयो।

कार्यक्रममा स्वास्थ्य केन्द्रकी प्रमुख सुदिपा शर्माले केन्द्रको प्रगति विवरण सार्वजनिक गर्नुभयो। प्रगति विवरण प्रस्तुत गर्दै उहाँले यो केन्द्र नगरकै उत्कृष्ट स्वास्थ्य केन्द्रको रूपमा स्थापित भएको बताउनुभयो। साथै, जनताको सेवामा सिङ्गो टिम हरपल सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो।
सोही अवसरमा स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारी लक्ष्मी बस्याललाई उत्कृष्ट कर्मचारी को रूपमा पुरस्कृत गरिएको छ। उहाँलाई नगर प्रमुख श्रेष्ठ र वडा अध्यक्ष तिवारीले संयुक्त रूपमा पुरस्कार प्रदान गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य सङ्घका न्यौपानेले बर्दघाटका १६ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्रहरू सञ्चालनमा रहेको उल्लेख गर्दै टोल विकास संस्थाहरूले आम सर्वसाधारणलाई यी सेवासुविधाहरूबारे जानकारी गराएर सहजता ल्याउन भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी यज्ञ प्रसाद दाहालले स्वास्थ्य स्वयंसेविकाहरू टोल-टोलमा पुगेर स्वास्थ्य सेवाको दायरालाई थप विस्तार गर्नुपर्ने सुझाव राख्नुभयो। पूजा भण्डारीले शनिबार र आइतबार दुई दिन बिदा हुँदा सेवाग्राहीहरू मर्कामा परेको भन्दै ध्यानाकर्षण गराउनुभयो भने उदयराज ढकाल र विजय नेपालले यस स्वास्थ्य चौकीले स्वास्थ्य सेवाको पहुँचमा आम सर्वसाधारणलाई जोड्न महत्वपूर्ण र सहयोगी भूमिका खेलेको भन्दै धन्यवाद तथा आभार व्यक्त गर्नुभयो।

