Garamin sakos

स्थानिय सरकारले महिला नीति बनाएर काम गर्नुपर्नेमा जोड

478

सुनयना चौधरी
बर्दघाट,फागुन–२४
महिला सशक्तीकरणका लागि स्थानीय सरकारले महिला नीति बनाएर काम गर्नुपर्ने बर्दघाट नगरका अगुवा महिला नेतृहरुले बताएका छन । बर्दघाटमा आयोजित ११५ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रममा बोल्ने महिला नेतृहरुले उक्त कुरा बताएका हुन ।

महिला सशक्तीकरणका लागि स्थानीय सरकारले महिला नीति बनाएर काम नगर्दा सम्म महिला मैत्रि कार्य हुन नसक्ने भन्दै उनीहरुले स्थानिय सरकारको ध्यान दिन जरुी रहेका औल्याएका थिए । सञ्चारिका समुह लुम्बिनीको आयोजनामा भएको महिला सशक्तीकरणः समानताको खोजी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अगुवा महिलाहरूले उचित नीति निर्माण गरी विधिसम्मत कार्यान्वयन गर्न सके मात्र सही परिणाम आउने बताएकाथिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिको रुपमा रहनुभएकी वडा नम्बर ५ की वडा अध्यक्ष विमला गुरुङले महिला सशक्तीकरणका लागि नगरपालिकामा बजेटको अभाव रहेको बताउनुभएको थियो । उहाँले महिलाहरू पारदर्शी हुने बताउँदै महिला शक्तिलाई सम्मान गर्नुपर्ने बताउनुभएको थियो । उहाँले महिलाहरूलाई विभिन्न सीपमुलक तालिम लिने र व्यवसायी नबन्ने समस्या रहेकोले महिलाहरू उद्यमशीलतामा जोडिनुपर्ने बताउनुभएको थियो ।

महिला विकाश शाखाकी प्रमुख अप्सरा सुवेदीले महिला तथा बालबालिका शाखा उल्टै हिंसामा परेको गुनासो गर्नुभयो । महिलाका कार्यक्रम सञ्चालन हुँदा शाखालाई थाहै नहुने, शाखाले उठाएका आवाजको सुनवाई नहुने, शाखा प्रमुखलेनै बजेट परिचालन गर्न नपाउँदा आफू अनुगमनमा जान नसकेको र रिपोर्ट पनि पेश गर्न नसकेको बताउनुभएको थियो ।

वडा नम्बर २ की पूर्व वडा अध्यक्ष तथा उद्यमी महिला दया दर्लामीले अधिकार मागेर मात्र नभए खोसेर लिनुपर्ने बुझाई भए पनि अधिकार बाँडेर लिनुपर्ने बताउनुभएको थियो ।

सामुदायिक बन उपभोक्ता जिल्ला महासङ्घ नवलपरासीकी अध्यक्ष शारदा पोखरेलले महिलाका क्षेत्रमा सञ्चालन भैरहेका कार्यक्रमहरूको निरन्तर अनुगमन हुनुपर्ने बताउनुभयो । उहाँले सामुदायिक बनमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको बताउनुभयो । शक्ति र पहुँचका आधारमा योजनाको वितरण हुँदा प्रभावकारी हुन नसकेको पोखरेलको भनाई रहेको थियो ।

सहयात्री नेपालकी अध्यक्ष तिलकुमारी श्रेष्ठले बजेट दिएपछि त्यसको उद्देश्य अनुरूप कार्यान्वयन भएको छ वा छैन भन्ने कुराको अनुगमन हुन नसकेको बताउनुभयो । उहाँले सीपमुलक तालिम लिएका महिलाहरूले पछि उद्यमी नभए तालिमको दुरुपयोग हुने बताउनुभयो ।

द लेप्रोसी मिसन नेपालकी लैङ्गिक अधिकृत निशा विष्टले गाउँका महिलाहरूलाई दिवसको बारेमा जानकारी समेत नहुने अवस्था रहेको बताउनुभएको थियो । आवश्यकताका आधारमा योजना निर्माण नहुँदा त्यस्ता योजनाले सही परिणाम दिन नसक्ने बताउनुभएको थियो ।

सञ्चारिका समुह नवलपरासीकी अध्यक्ष विष्णु खनालले नगरपालिकाले महिलाका क्षेत्रमा गरेका कामहरूको तथ्याङ्क राख्न आवश्यक रहेको उल्लेख गर्नुभयो । महिलाको नीति निर्माण गर्नका लागि अवस्था विश्लेषण गरेर नीति बनाउने र कार्यान्वयन गर्न सके मात्र महिला  शसक्तिकरण हुने खनालको भनाई रहेको थियो ।

कार्यक्रममा उषा किरण पन्थले सहजीकरण गर्नुभएको थियो । सञ्चारिका समुह नवलपरासीकी उपाध्यक्ष सुनयना चौधरीको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको सञ्चालन सचिव डोल्मा चौधरीले गर्नुभएको थियो ।

कार्यक्रम सञ्चारिका समुह लुम्बिनीको आयोजना, बर्दघाट नगरपालिकाको सहयोग र द लेप्रोसी मिसन नेपालको सहकार्यमा आयोजना गरिएको थियो ।