Jilla Ban Notis

देश र जनताको पक्षमा बोल्ने र काम गर्ने पार्टी एमाले मात्रहो – ज्ञवाली

0 85

बर्दघाट, २८ साउन
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनबाट तर्सिन आवश्यक नरहेको बताउनुभएको छ । विपक्षी गठबन्धनको बाबजुद पनि स्थानीय निर्वाचनमा एमाले पपुलर मतसहित पहिलो दल भएको बताउँदै उहाँले सत्तागठबन्धनबाट सजग भने रहनुपर्ने उल्लेख गर्नुभयो ।

नेकपा एमाले जिल्ला कमिटी पश्चिम नवलपरासीको आयोजनामा आज बर्दघाटमा भएको बृहत प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिदैँ एमाले नेता ज्ञवालीले कांग्रेस, माओवादी, एकिकृत समाजवादी,जसपा लगायतका दलको स्वार्थ भनेको सत्ता प्राप्ती मात्र रहेको तर देश र जनताको पक्षमा बोल्ने र काम गर्ने पार्टी एमाले मात्र रहेको दाबी गर्नुभयो ।

राष्ट्रियता र लोकतन्त्रको पक्षमा बोल्ने पार्टी एमाले एक्लै भएका कारण अहिले एमाले विरुद्ध मोर्चाबन्दी गरिएको नेता ज्ञवालीले जिकिर गर्नुभयो । उहाँले स्थानीय निर्वाचनको ह्रयाङ्बाट मुक्त भएर उच्च मनोबलको साथ अघि बढ्न आग्रह गर्नुभयो ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले नेतृत्वको सरकारले गरेका राम्रा काम लिएर जनता माझ जान आग्रह गर्दै एमाले उपमहासचिव ज्ञवालीले वर्तमान सरकारका कारण भईरहेको महंगी, भ्रष्टाचार,अनियमितता, राष्ट्रहित विरोधी कार्यहरुको विरुद्ध उत्रन कार्यकर्तालाई निर्देशन दिनुभयो ।

नेकपा एमालेका जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज सरिता खनाल, केन्द्रीय सदस्य एवं जिल्ला सहईन्चार्ज विमला अर्याल, एमाले केन्द्रीय सल्लाहकार खेमलाल पोखरेल, प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ लगायतले प्रशिक्षण दिनुभएको एमाले जिल्ला सचिव धीरज शर्मा बस्यालले जानकारी दिनुभयो । जिल्ला स्तरीय प्रशिक्षणपछि अव पालिका स्तरमा प्रशिक्षण कार्यक्रम गरिने एमलो जिल्ला उपाध्यक्ष डोलराज भण्डारीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.