कृष्ण ढकाल
बर्दघाट,भदौ–२७
नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा नवलपरासीले पाँचौ जिल्ला स्तरीय जुनियर युवा रेडक्रस गोष्ठी सम्पन्न गरेको छ ।
बर्दघाटमा रहेको न्यू लाइफ माबिमा आयोजना गरीएको जुनियर युवा रेडक्रस गोष्ठी समुद्घाटन पूर्व प्रभातफेरी कार्यक्रम गरेर नगर परिक्रमा गरीएको थियो ।
नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा नवलपरासीका सदस्य तथा जुनियर जिल्ला संयोजक घनश्याम प्रसाद यादवको अध्यक्षता र बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका ६० वटा जुनियर युवा रेडक्रसहरुले सहभागिता जनाएका थिए ।
गोष्ठी सम्पन्न भएसँगै जुनियरहरुका लागि तालिम र नायब शिक्षकहरुसंग जिल्ला शाखाले छुट्टै अन्त्ररक्रिया एवं छलफल गरेको थियो ।
पाँचौ जिल्ला स्तरीय जुनियर युवा रेडक्रस गोष्ठीको समुद्घाटन गर्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठले समाजमा घट्नेहरेक आपत विपतमा रेडक्रस सहयोगी बनेर अगाडी बढेको बताउनु भएको थियो । नगर प्रमुख श्रेष्ठले प्राथमिक उपचार सम्वन्धि ज्ञान र सीप सिक्ने देखि नेतृत्वमा रहेर अनुसासन सँगै सेवाभावको काम सिकाउने पवित्र काम जोडीएका सबै विद्यार्थीहरुलाई धन्यवाद समेत प्रकट गर्नु भएको थियो ।
त्यसैगरी नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले पाँचौ जिल्ला स्तरीय जुनियर युवा रेडक्रस गोष्ठी बर्दघाटमा ल्याएर सम्पन्न गरेको प्रति धन्यवाद प्रकट गर्दै सानै उमेरवाट बिद्यार्थीहरुलाई मानविय सेवामा लाग्ने प्रेरण प्रदान गर्नु आफैमा पुण्यकाम रहेको बताउनु भएको थियो ।
गोष्टी उद्घाटन कार्यक्रममा नेपाल रेडक्रश सोसाइटी लुम्बिनी प्रदेशका कोषाध्यक्ष हेदर अलि मोमिन,जिल्ला सभापति राजेन्द्र प्रसाद अग्रहरी,उप–सभापति कृष्ण प्रसाद लामिछाने,शिक्षा विकास तथा समन्वय इकाइ प्रतिनिधि सुवास गौतम,न्यू लाइफ माबिका प्रबन्ध निर्देशक डि.बि.अधिकारी लगाएत जिल्ला शाखा र बर्दघाट उपशाखाका पदाधिकारी एवं कार्यसमिति सदस्यहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।
कार्यक्रममा जिल्ला शाखाले गरेको विद्यालय स्तरीय कार्यक्रमहरुको प्रतिवेदन समेत प्रस्तुत गरीएको थियो । जिल्लामा ६२ वटा सर्कलमा ४ हजार ६ सय ५० जना बिद्यार्थीहरु जुनियर युवा रेडक्रसमा आवद्ध रहेको र त्यसमा १ हजार ४ सय ५० छात्र र ३ हजार २ सय छात्राहरु आवद्ध रहेको प्रतिवेदनमा उल्लेख गरीएको छ ।
जिल्ला शाखाले गरेको विद्यालय स्तरीय कार्यक्रमहरुमा हाजिरी जवाफ प्रतियोगिता ,नेतृत्व विकास तालिम,बतृत्वकला प्रतियोगिता,कविता प्रतियोगिता र प्रदेश र जिल्ला स्तरीय गोष्ठीहरु आयोजना गरेको प्रतिवेदनमा उल्लेख छ ।
