कृष्ण ढकाल
बर्दघाट,भदौ–२३
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले सहयोग गर्नेक्रम जारी रहेको छ । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको एक्स आर्मी पब्लिक इङ्गलिस सेकेण्डरी स्कूलले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहतका लागि ८९ हजार ६ सय ५० रकम जिल्ला प्याब्सन मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी आर्थिक सहयोग गरेको छ।

विद्यालयले विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालय व्यवस्थापन समितिको संयुक्त पहलमा संकलित रकम जिल्ला प्याब्सनका अध्यक्ष डम्वर बहादुर गुरुङलाई हस्तान्तरण गरेको विद्यालयका प्रिन्सीपल मिनकेशर शर्माले बताउनु भएको छ ।


त्यसैगरी
बर्दघाट–२,चिसापानीमा रहेको बर्दघाट ईनलाईटेण्ड इङ्गलिस स्कूलले पनि जिल्ला प्याब्सन मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी ५५ हजार ५ सय ५५ पचपन्न रुपैयाँ नगद सहयोग गरेको विद्यालयका प्रिन्सीपल नविन कंडेलले बताउनु भएको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी सहयोग गर्न ईनलाईटेण्ड बाल क्लबका विद्यार्थीहरूले आफ्नो इच्छाअनुसार स्वेच्छिक रूपमा रसंकलन गरेको १० हजार ६ सय ५५ पचपन्न रुपैयाँ थियो भने बाँकी रकम विद्यालय र शिक्षक कर्मचारीले सहयोग गरेका थिए ।
अहिले सम्म पश्चिम नवलपरासीका निजी तथा आवासीय विद्यालयहरूले २५ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको नवलपरासी जिल्ला प्याब्सन अध्यक्ष डम्वर बहादुर गुरुङले बताउनु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पश्चिम नवलपरासीमार्फत संकलन गरिएको सहयोग रकममध्ये ४१ विद्यालय तथा संस्थाले कुल २५ लाख १ हजार १५७ सहयोग गरेका हुन्।
उता


ब्रसेल्स बेल्जियमका नेपाली दिदीबहिनीहरूले अम्बिका शर्माको अगुवाईमा तिजको कार्यक्रम स्थगित गरी आमा समूहको तर्फबाट १ लाख ७७ हजार प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको समुहकी सदस्य अम्बिका शर्माले बताउनु भएको छ। ब्रसेल्स बेल्जियमको बुर्सेल नेपाली आमा समूह तीज कार्यक्रम र अन्य स्रोतबाट संकलित रकमलाई बाढीपहिरो पीडितलाई सहयोग गर्ने उद्देश्यले समूहले उक्त निर्णय गरेको जनाएको छ।
यता

काठमाडौंमा केन्द्रीय कार्यालय र बर्दघाटमा सम्पर्क कार्यालय रहेको भर्साटाइल म्यानेजमेन्ट सोलुसन्स प्रा। लि।ले संस्थाको तर्फबाट ६६ हजार ६ सय ६६ रुपैया प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको संस्थाका सञ्चालक नवराज चालिसेले जानकारी गराउनु भएको छ ।
