सुस्ता,भाद्र –१८
नारायणी नदीमा आएको बाढीले पश्चिम नवलपरासीको सुस्तामा नेपाल–भारत सीमा छुट्याउने चिनारीका रूपमा मानिँदै आएको सिमलको रुख बगाएपछि सुस्तावासीले तत्काल स्थायी सीमा स्तम्भ राख्न माग गरेका छन्।
स्थानीयका अनुसार नेपाल र भारतका जिल्लास्तरका सुरक्षा अधिकारी तथा स्थानीयको सहभागितामा करिब १८ वर्षअघि उक्त रुखलाई सीमा चिनारीका रूपमा मान्ने सहमति भएको थियो।
तर, अहिले बाढीले त्यही रुख बगाएपछि सुस्तामा सीमा पहिचान र सुरक्षा थप चुनौतीपूर्ण बन्न सक्ने स्थानीयको चिन्ता छ।
सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालले सीमा मानिएको रुख बगेको अवस्थामा ढिलाइ गरिए त्यसको फाइदा उठाउँदै भारतीय पक्षबाट थप अतिक्रमण हुनसक्ने आशंका व्यक्त गरे। “अब यसैको मौका छोपेर भारतीय पक्षले थप अतिक्रमण गर्न सक्छ, जसले भविष्यमा थप विवाद निम्त्याउन सक्छ। सरकारले बेलैमा आवश्यक कदम चाल्नुपर्छ,” जैसवालले भने।
यसैबीच, सुस्ता गाउँलाई बाढीबाट जोगाउन नारायणी नदीमा निर्माण भइरहेको १ सय ३२ मिटर तटबन्धको काम भारतीय एसएसबीको अवरोधका कारण करिब दुई महिना रोकिएको थियो ।
सुस्तामा लामो समयदेखि कायम सीमा विवादका बीच स्थायी सीमा स्तम्भ नहुँदा पटक–पटक समस्या सिर्जना हुँदै आएको गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले बताए। उनले बाढीले सीमा चिनारीका रूपमा रहेको रुखसमेत बगाएपछि संघीय सरकारले तत्काल स्थायी सीमा स्तम्भ राख्न पहल गर्नुपर्ने माग गरे ।
सीमा विवादका कारण वर्षौंदेखि समस्यामा परेको सुस्तामा अब सीमा चिनारीसमेत बाढीले बगाएपछि स्थानीय थप चिन्तित बनेका छन्। समयमै स्थायी सीमा स्तम्भ नराखिए आगामी दिनमा सीमा विवाद थप जटिल बन्न सक्ने भन्दै ठोस कदम चालिनु पर्ने उनीहरुको भनाई छ ।
