sunwal

बाढीपीडितको सहयोगका लागि हाम्रो सुपर सहकारीद्वारा १ लाख १ हजार १११ सहयोग

453

आरती राना
बर्दघाट, भदौ–१९

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले बर्दघाट नगरपालिका–२, चिसापानीमा रहेको हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ लाख १ हजार १११ रुपैयाँ सहयोग गर्ने भएको छ।

सहकारी संस्थाले विपद्का कारण समस्यामा परेका नागरिकलाई राहत उपलब्ध गराउनुका साथै क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा समेत सहयोग पुर्‍याउने उद्देश्यले संस्थाको तर्फबाट उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। संस्थाका कार्यवाहक अध्यक्ष मनोहर रायमाझीद्वारा जारी विज्ञप्तिमा बाढी प्रभावित नागरिकको पीडामा संस्थागत रूपमा साथ दिने निर्णय गरिएको उल्लेख छ।

सहकारीले सहयोग गर्ने रकममध्ये सरावल गाउँपालिका–१, बासावसही निवासी माधव चौधरीको घर निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण चौधरी परिवार सम्पर्कविहीन रहेको अवस्थाप्रति ध्यान दिँदै घर पुनर्निर्माणमा सहयोग गर्ने निर्णय गरिएको विज्ञप्तिमा जनाइएको छ।

यद्यपि, माधव चौधरीको घर निर्माणका लागि छुट्याइएको ५० हजार रुपैयाँ भने सरावल गाउँपालिकासँग सहकार्य गरेर मात्र उपलब्ध गराइने सहकारीका व्यवस्थापक विष्णुबहादुर बस्नेतले जानकारी दिनुभएको छ। घर निर्माणको प्रक्रिया तथा स्थानीय तहसँगको समन्वयलाई ध्यानमा राखेर सहयोग रकम प्रदान गरिने उहाँले बताउनुभयो।

सहकारीका अनुसार कुल सहयोग रकममध्ये संस्थाको तर्फबाट ६४ हजार ३११ रुपैयाँ र कर्मचारीहरूको तर्फबाट ३६ हजार ८०० रुपैयाँ संकलन भएको छ। यसरी संस्थागत तथा कर्मचारीको योगदानसमेत गरी बाढी प्रभावित नागरिकका लागि कुल १ लाख १ हजार १११ रुपैयाँ सहयोग गर्न लागिएको हो।

कुल सहयोग रकममध्ये प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार १११ रुपैयाँ जम्मा गरिएको सहकारीले जनाएको छ। भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण धेरै परिवार विस्थापित हुनुका साथै घर, सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ। विपद्बाट प्रभावित नागरिकको तत्काल राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग जुटाउने क्रम जारी रहेको छ। हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्थाले पनि बाढी प्रभावित नागरिकको पीडामा साथ दिँदै राहत तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाएको छ।