कृष्ण ढकाल
बर्दघाट, भदौ–१९
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि बर्दघाट–४ स्थित डेभिस स्कुलका विद्यार्थीहरूले सञ्चालन गरेको ‘मेनु अभियान’बाट १ लाख ३५ हजार ९६५ रुपैयाँ संकलन भएको छ। विद्यार्थीहरूले संकलन गरेको उक्त रकममा विद्यालयले पनि बराबर रकम थप्ने भएपछि बाढीपीडितका लागि कुल २ लाख ७१ हजार ९३० रुपैयाँ सहयोग उपलब्ध हुने भएको छ।
विद्यालयका प्रिन्सिपल तथा प्याब्सन केन्द्रीय सदस्य सुवर्ण न्यौपानेका अनुसार स्टुडेन्ट काउन्सिल र भोलिन्टियर्स सोसाइटीको विशेष सक्रियतामा अभियान सञ्चालन गरिएको हो। विद्यार्थीहरूले विद्यालय परिसरमै विभिन्न परिकार बिक्री गर्दै सहयोग रकम संकलन गरेका थिए।
विद्यार्थीहरूले संकलन गरेको रकम बराबर अर्थात् थप १ लाख ३५ हजार ९६५ रुपैयाँ विद्यालयको तर्फबाट उपलब्ध गराउने तयारी गरिएको प्रिन्सिपल न्यौपानेले बताउनुभयो। संकलित रकममा विद्यालयको सहयोग थप गरी जिल्ला प्याब्सनमार्फत प्याब्सन केन्द्रमा पठाउने र केन्द्रमार्फत एकमुष्ट रूपमा नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो।
विद्यार्थीहरूलाई अध्ययनसँगै व्यवहारिक ज्ञान, नेतृत्व क्षमता, सहकार्य तथा सामाजिक उत्तरदायित्वको भावना विकास गराउने उद्देश्यले विद्यालयमा विभिन्न उद्देश्यका आठवटा क्लब सक्रिय छन्। ती क्लबहरूले आफ्नो उद्देश्यअनुसार विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन्।
यसै क्रममा स्टुडेन्ट काउन्सिलले बर्दघाट क्षेत्रमा नयाँ अवधारणाका रूपमा विद्यालय परिसरमै बाढीपीडितका लागि सहयोग जुटाउने उद्देश्यले ‘मेनु अभियान’ सञ्चालन गरेको हो। अभियानअन्तर्गत मोही, चटपट, चिया लगायतका विभिन्न परिकार बिक्रीका लागि राखिनुका साथै सहयोग संकलन गर्न डोनेसन बक्ससमेत राखिएको थियो।
सामाजिक उद्देश्यका लागि विद्यार्थीहरूले सञ्चालन गरेको रेस्टुरेन्टको व्यवस्थापन तथा सञ्चालनमा लाग्ने खर्च भने विद्यालयले स्टुडेन्ट काउन्सिललाई सहयोग गरेको थियो। त्यसपछि विद्यार्थीहरूले आफ्ना अभिभावक, शिक्षक, कर्मचारी तथा सहपाठीहरूलाई परिकार बिक्री गरी रकम संकलन गरेका थिए।
अभियानले आफूहरूमा नयाँ ज्ञान र सीप विकाससँगै सामाजिक कार्यमा सहभागी हुने प्रेरणा मिलेको स्टुडेन्ट काउन्सिलका अध्यक्ष रिजन डुम्रेले बताउनुभयो। “सुरुमा अभियानको उद्देश्य सबैलाई बुझाउन र सहभागी गराउन केही गाह्रो भयो। तर, अभियानको उद्देश्य बुझेपछि सबैबाट राम्रो साथ र सहयोग प्राप्त भयो,
” डुम्रेले भन्नुभयो, “यस मोडलबाट पनि सामाजिक सेवाका काम गर्न सकिन्छ भन्ने सन्देश दिन हामी सफल भएका छौँ। रसुवा लगायतका बाढी प्रभावित नागरिकका लागि सहयोग जुटाउन पाउँदा हामीलाई खुसी लागेको छ।”
त्यसैगरी अभियानको अर्को आयोजक क्लब भोलिन्टियर्स सोसाइटीकी अध्यक्ष अदिति पाठकले विद्यार्थीहरूमा सहकार्य र मिलेर सामाजिक काम गर्ने संस्कार विकास गर्न अभियान सफल भएको बताउनुभयो।
उहाँले अभिभावकहरूले बालबालिकाका सामाजिक गतिविधिमा साथ, सहयोग र सहकार्य गर्ने हो भने समाजका धेरै काम सहज रूपमा अघि बढाउन सकिने बताउनुभयो। “बालबालिकालाई सामाजिक काममा सहभागी गराउँदा उनीहरू भोलिको सभ्य र जिम्मेवार समाज निर्माणका सहयोगी बन्न सक्छन् भन्ने उदाहरण यो अभियानले दिएको छ,” पाठकले भन्नुभयो। डेभिस स्कुलका विद्यार्थीहरूले सञ्चालन गरेको यो अभियानले बाढीपीडितलाई आर्थिक सहयोग जुटाउनुका साथै विद्यालयमै सामाजिक उत्तरदायित्व, नेतृत्व, सहकार्य र व्यवहारिक सिकाइलाई जोड्ने नयाँ अभ्याससमेत प्रस्तुत गरेको छ।
