sunwal

विपद् प्रभावितका लागि ग्रामिण बाल्मीकी सहकारीद्वारा पौने तीन लाख सहयोग

537

कृष्ण ढकाल
बर्दघाट, भदौ–१७

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै पश्चिम नवलपरासीको बर्दघाट–७, जिमिरेभारमा रहेको ग्रामिण बाल्मीकी बचत तथा ऋण सहकारी संस्थाले विपद् प्रभावितका लागि आर्थिक सहयोग गरेको छ।

बाढी तथा अन्य विपद्का कारण प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकारले गरेको सहयोगको अपिललाई आत्मसात् गर्दै सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ९३ हजार ६ सय २३ रुपैयाँ सहयोग गरेको हो।

संस्थाका अध्यक्ष रविन्द्र विक्रम हमालद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार उक्त रकम संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, व्यवस्थापन उपसमिति, कर्मचारी तथा संस्थाको संयुक्त योगदानबाट संकलन गरिएको हो। विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्वसमेत भएकाले संस्थाले आफ्नो तर्फबाट सहयोग गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ।

सहकारी संस्थाले यसअघि पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक तथा मानवीय कार्यमा सहयोग गर्दै आएको  छ।