कृष्ण ढकाल
बर्दघाट, भदौ–१७
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित बाढीपीडितका लागि बर्दघाट एमआरआर भजन समूहको पहलमा संकलन गरिएको राहत सामग्री लिएर एमआरआर बर्दघाटको टोली नुवाकोटतर्फ प्रस्थान गरेको छ।
एमआरआर भजन समूहका सल्लाहकार सन्तोष गुरुङको संयोजकत्वमा बर्दघाटमा संकलन गरिएको राहत सामग्री तीनवटा पिकअप गाडीमा राखेर बुधबार नुवाकोटतर्फ पठाइएको हो। बर्दघाटवासीले सहयोगस्वरूप उपलब्ध गराएका विभिन्न राहत सामग्री बर्दघाट नगरपालिका सर्प उद्धारकर्ता तथा दमकल चालक दुर्गा लामिछानेको घरमा संकलन गरिएको थियो।
राहत सामग्री लिएर एमआरआर बर्दघाटका छ जना सदस्य र तीन जना पिकअप चालक गरी नौ जनाको टोली नुवाकोटतर्फ गएको छ। टोलीमा एमआरआर भजन समूहका संयोजक विवेक भण्डारी, प्रकाश चापागाईं, अजय पाण्डे, सुमन शर्मा, सल्लाहकार सन्तोष गुरुङ र नवीन चौधरी सहभागी छन्।
बाढीबाट प्रभावित परिवारलाई आवश्यक राहत सामग्री प्रत्यक्ष रूपमा उपलब्ध गराउने उद्देश्यले टोली नुवाकोटतर्फ गएको एमआरआर बर्दघाटले जनाएको छ। स्थानीयवासीबाट प्राप्त सहयोगलाई प्रभावित क्षेत्रमा पुर्याउन आफूहरू सक्रिय भएको टोलीका सदस्यहरूले बताएका छन्।
