sunwal

तीजको दर खान संकलन गरिएको रकम बाढीपीडितलाई सहयोग

432

कृष्ण ढकाल
बर्दघाट, भदौ–१६

हरितालिका तीज पर्वका अवसरमा रमाइलो तथा दर खाने प्रयोजनका लागि संकलन गरिएको रकम बाढीपीडितको लागि सहयोगमा खर्च गर्दै बर्दघाट नगरपालिका–४, बर्दघाटस्थित शिवशक्ति आमा समूहले सामाजिक उत्तरदायित्व वहन गरेको छ।

समूहले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका बाढीपीडितका लागि २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको हो। तीज पर्वमा हुने रमाइलो तथा दर खाने कार्यक्रमका लागि समूहका सदस्यहरूबाट संकलन गरिएको रकमलाई विपद्मा परेका नागरिकको सहयोगमा प्रयोग गर्ने निर्णय गरिएको समूहकी उपाध्यक्ष शिवकुमारी भट्टराईले बताउनुभयो।

उहाँका अनुसार बाढीका कारण धेरै परिवार समस्यामा परेको अवस्थामा आफ्नो खुशीका लागि मात्रै खर्च गर्नुभन्दा विपद्मा परेका नागरिकलाई केही सहयोग गर्नुपर्छ भन्ने भावनाले रकम सहयोग गरिएको बताउनु भयाे।

समूहले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। विपद्को समयमा थोरै भए पनि सहयोगले पीडित परिवारलाई राहत पुग्ने विश्वास समूहले लिएको छ। शिवशक्ति आमा समूहले यसअघि पनि सामाजिक तथा मानवीय क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको र आगामी दिनमा समेत आवश्यकता अनुसार सामाजिक कार्यमा सक्रिय रहने जनाएको छ।