sunwal

बर्दघाट नगरपालिकाले गर्यो पालिका स्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

वार्षिक समीक्षा कार्यक्रममा तीन संस्था पुरस्कृत

565

कृष्ण ढकाल,
बर्दघाट,साउन–२९

बर्दघाट नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका स्वास्थ्यका कार्यक्रम तथा योजनाहरुको पालिका स्तरीय उपलब्धि तथा चुनौतीबारे वार्षिक समीक्षा गरेको छ। नगरपालिकाले साउन २८ र २९ गते नगरको सभाहलमा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

समिक्षा कार्यक्रममा बोल्दै नगरका नगर उपप्रमुख तथा समिक्षा कार्यक्रमका प्रमुख अतिथि रुद्रप्रकाश उपाध्यायले बार्षिक समिक्षा कार्यक्रम समिक्षा जस्तो नभएर रिपोर्टीङ जस्तो भएकाले अझै बिष्लेशण हुनु पर्ने भन्दै छुट्टै समिति बनाएर बिषेश तरीकाको समिक्षाहुन जरुरी रहेको बताउनु भएको थियो ।

नगरका स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने सेवाप्रति नागरीकहरुको विश्वास घटेको तथ्याङ्क आएको देखेपछि किन संस्थाप्रति विश्वास घटेको छ त्यसको बिष्लेशण गरी योजना ल्याउन आग्रह गर्नु भएको छ । त्यसैगरी सबै स्वास्थ्य संस्थाहरुले गरेका काम ,चुनौती तथा समस्या एवं सिकाईहरुलाई सबैले बुझनेगरी सरल भाषामा समिक्षा कार्यक्रममा ल्याउन अनुरोध गर्नु भयो ।

फरक प्रसंगमा चिसापानी अस्पतालले कर्मचारी कमी भयो भनेर भनी रहने तर त्यसमा फेरी चौपत्ता अस्पतालमा हुने डाईलसिसको जिम्मा पनि चिसापानी अस्पतालले सञ्चालन गर्ने भन्ने निर्णय गरेर जानेकाम गरेपछि पछि झन समस्या आउन सक्ने भएकाले बेलैमा सचेत रहन आग्रह समेत गर्नु भएको थियो ।

बर्दघाट स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत कृष्णहरि पौडेलको सञ्चालन रहेको कार्यक्रममा स्वास्थ्य कार्यालय नवलपरासीका तथ्याङ्क अधिकृत एकदेव न्यौपाने,बर्दघाट स्वास्थ्य शाखा प्रमुख ईश्वरी प्रसाद न्यौपाने,जनस्वास्थ्य निरिक्षक रिकमान श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो ।

साउन २८ र २९ गतेगरी दुइ दिन सम्म सञ्चालन भएको वार्षिक समीक्षा कार्यक्रममा नगरका १७ वटा स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले आ–आफ्नो संस्थाले गरेको वार्षीक प्रगति प्रतिवेदन तथ्याङ्कगत रुपमा स–प्रमाण प्रस्तुत गरेका थिए ।

वार्षिक समीक्षा कार्यक्रममा तीन संस्था पुरस्कृत

बर्दघाट नगरको पालिका स्तरीय स्वास्थ्य वार्षिक समीक्षा कार्यक्रममा ३ संस्था पुरस्कृत भएका छन ।
वडा नं.–९ को स्वास्थ्य संस्थाले १ सय पूर्णाकमा ७१ दशमलब २५ अंक ल्याएर प्रर्थम भएको छ भने वडा नं. १२ को स्वास्थ्य संस्थाले ७० दशमलब १९ अंक ल्याएर दोस्रोहुन सफल भएको छ । त्यसैगरी वडा नं. ३ को स्वास्थ्य संस्थाले ६९ दशमलब ८८ अंक ल्याएर तेस्रो भएको छ ।

 

बर्दघाट नगरपालिकाको स्वास्थ्य क्षेत्रको अवस्था ?

 

बर्दघाट नगरपालिकाले वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत गरेको विवरणको तथ्याङ्क अनुसार अहिले बर्दघाट नगरमा १५ शैयाको एक आधारभूत अस्पताल सहित चार स्वास्थ्य चौकी, ११ आधारभूत स्वास्थ्य सेवा केन्द्र र एक सामुदायिक स्वास्थ्य इकाई नगरको माताहतमा रहेर सञ्चालनमा रहेका छन्। यस्तै २६ वटा खोप क्लिनिक र १३ वटा गाउँघर क्लिनिक मार्फत बर्दघाट नगरका नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गरीएको छ ।

बर्दघाट नगरपालिकाको स्वास्थ्य क्षेत्रमा कुल ७३ जनाको स्वीकृत दरबन्दी रहेकामा प्रस्तुत गरेको विवरण अनुसार अहिले ८१ जना ब्यीक्तहरुले स्वास्थ्यको क्षेत्रमा कार्यरत रहेको उल्लेख छ। कार्यरत जनशक्तिमध्ये ४१ जना स्थायी र ४० जना करारमा रहेका छन्। केही पदमा दरबन्दीअनुसार जनशक्ति अपुगसमेत रहेको विवरणमा देखाइएको छ।

स्वास्थ्य सेवातर्फ नगरपालिकाका सबै स्वास्थ्य संस्थामा वर्षभरि ९८ प्रकारका निःशुल्क आधारभूत औषधि उपलब्ध रहेको जनाइएको छ। तर आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक १८ प्रकारका औषधिजन्य सामग्री तथा उपकरण मात्र स्वास्थ्य संस्थामा उपलब्ध रहेको समीक्षामा प्रस्तुत गरेको विवरणमा उल्लेख छ।

नगरपालिकामा खोप सेवा विस्तार गरिएको छ। २६ वटा खोप केन्द्र सञ्चालनमा रहेका छन् भने एक भ्याक्सिन सब–सेन्टर र एक भ्याक्सिन ढुवानी व्यवस्था रहेको छ। मातृ तथा बाल स्वास्थ्य सेवाअन्तर्गत दुई वटा वडामा बर्थिङ सेन्टर सञ्चालनमा छन् भने सबै स्वास्थ्य संस्थाबाट गर्भवती जाँच  तथा सुत्केरीपछिको जाँच सेवा उपलब्ध रहेको विवरणमा उल्लेख छ।

नसर्ने रोग, सरुवा रोग, ज्येष्ठ नागरिक स्वास्थ्य तथा सामान्य आकस्मिक सेवासमेत १७ स्वास्थ्य संस्थाबाट उपलब्ध गराइएको जनाइएको छ। मानसिक स्वास्थ्य सेवा भने बर्दघाट नगर अस्पतालबाट प्रदान भइरहेको उल्लेख छ। आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य सेवातर्फ बर्दघाट–५ मा नागरिक आरोग्य स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा रहेको छ।

स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधारका लागि नगरपालिकाले विभिन्न सामुदायिक तथा निजी स्वास्थ्य संस्थासँग साझेदारी समेत गरेको समिक्षा कार्यक्रममा बताएको थियो । अति विपन्न नागरिकको निःशुल्क उपचार तथा सुरक्षित मातृत्व सेवाका लागि सहिद स्मृति सामुदायिक अस्पताल, मोतियाविन्दुको निःशुल्क उपचारका लागि डा। विनोद निता कण्डेल आँखा अस्पताल तथा बिरामीलाई निःशुल्क यातायात व्यवस्थापनका लागि गौतमबुद्ध सामुदायिक अस्पतालसँग सहकार्य गरिएको समीक्षा कार्यक्रममा बर्दघाट स्वास्थ्य शाखा प्रमुख ईश्वरी प्रसाद न्यौपानेले जानकारी गराउनु भएको थियो ।

त्यसैगरी न्यूनतम सेवा मापदण्ड  अनुसार बर्दघाट नगर क्षेत्रका सबै स्वास्थ्य संस्थाको मूल्यांकन गरिएको र तीमध्ये पाँच वटा स्वास्थ्य संस्थाले ८५ प्रतिशतभन्दा माथि अंक प्राप्त गरेको उल्लेख गरीएको छ । वडा नं. ४ र ९ का दुई वटा स्वास्थ्य संस्थाले वर्षमा एक पटक सामाजिक परीक्षण समेत गरेको कार्यक्रमा जानकारी गराइएको थियो ।