रामप्रसाद पौडेल
बर्दघाट,साउन–२१
पूर्व–पश्चिम महेन्द्र राजमार्गको बर्दघाट बजार क्ष्ँेत्रमा सडक पशुका कारण दुर्घटनाको जोखिम बढेर गएको छ । दिनहुँ हजारौ साना ठूला सवारीका साधनहरु देखि पैदल यात्रीहरुको आवत जावत हुने स्थानमा सडक पशुहरुको बिग –बिगी हुन थालेपछि दुर्घटनाको जोखिम बढेर गएको देखिएको छ ।
बर्दघाट बजार क्षेत्रमा अनियन्त्रित रुपमा आउने छाडा चौपायाले सडकमा दुर्घटना बढ्नुका साथै शहरको सुन्दरता र ब्यवस्थापनमा समेत बाधा पुर्याउने गरेका छन्। सडकमा छोडिएका चौपाया व्यवस्थापनकै लागि स्थानीय बर्दघाट नगरसरकारले बर्सेनी मानिसहरु लगाएर बजारबाट धपाउदै वडा नं. २ को पहाडी क्षेत्र संसारकोट,पटुके विहारी लगाएतका क्षेत्रका किसानहरुलाई लगेर पाल्न दिने गरेको छ । तर पनि समस्या भने ज्युकात्यु नै रहेको छ ।
सडकमै छाडा चौपायाले अड्डा जमाएर बस्दा सडकका डिभाइडरमा लगाउदै गरेको दुबो संरक्षणमा समस्या देखिएको छ भने दुर्घटनाको जोखिम त बढेको छ नै सर्वसाधारणलाई समेत हिँड्डुल गर्न समस्या हुने गरेको छ।
चौबीसै घण्टा व्यस्त हुने पूर्व(पश्चिम राजमार्गमा छाडा चौपाया बस्ने र हुल बाँधेर उभिने पशु चौपायाका कारण नागरिकहरु दुर्घटनामा परिसकेका छन्। तीव्र गतिमा सवारी गुड्ने राजमार्गमा छाडा चौपायाले अखडा बनाउँदा कैयौँको यात्रा गन्तव्यमा नपुग्दै अन्त्य हुने हो कि ? भन्ने त्रास बढेको छ । त्यसैले बेलैमा सबै सरोकारवालाहरुले सोच्न जरुरी छ ।
