sunwal

जन्मोत्सवको अवसर पारेर वृक्षारोपण

526

बर्दघाट,असार–१७

पश्चिम नवलपरासीका बर्दघाट ४ का युवा रमेश पाण्डेयले आफ्नो जन्मोत्सवको अवसर पारेर वृक्षारोपण गरेका छन् । पाण्डेयले जन्मोत्सवमा हुने फजुल खर्चलाई रोक्दै थोरै भए पनि वातावरण संरक्षणमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ वृक्षारोपण कार्यक्रम गरी जन्मोत्सव मनाएको बताए ।

जन्मोत्सवको अवसरमा बर्दघाट ४ स्थित चुरे उद्यानमा विभिन्न प्रजातिका फलफूल तथा जडिबुटीका बिरुवाहरू रोपिएको हो । स्थानीय स्तरबाट स्वतःस्फूर्त रुपमा सञ्चालन भैरहेको चुरे संरक्षण अभियानमा सहयोग पुग्नेगरि उनले आँप ३०, लिची ३०, बडहर १५, अमला १०, रुद्राक्ष १० र फडियर ५ गरी १ सय बिरुवा रोपेका हुन् ।

जन्मोत्सवमा रमाइलो गर्ने र खर्च गरेर मनाउने प्रचलनलाई तोड्दै जलवायु परिवर्तनका कारण वातावरणमा परेको प्रभाव कम गर्नका लागि थोरै भए पनि मद्दत पुग्ने गरी गरिएको वृक्षारोपणले सकारात्मक सन्देश दिएको छ । बिरुवा रोप्ने मात्र नभइ त्यसको निरन्तर निगरानी गर्ने र हुर्काउने दायित्व पनि बोध गरी सबै बिरुवा बचाउने पाण्डेले प्रण गरेका छन् ।

उनले अरु युवाहरूलाई पनि सामाजिक कार्यमा सरिक हुन र हरेकले आफ्नो जन्मदिनमा कम्तीमा १ बिरुवा भए पनि रोपेर हुर्काउन आग्रह गरेका छन् ।