Bardaghat Na pa

योगनगर बनाउने अभियानसहित बर्दघाटमा मनाइयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

520
लोकहरि पाण्डे
बर्दघाट, ७ असार
स्वस्थ बुढ्यौलीका लागि योग’(Yoga for Healthy Ageing) भन्ने अन्तर्राष्ट्रिय नाराका साथ बर्दघाट नगरपालिकामा १२औँ अन्तर्राष्ट्रिय योग दिवस आइतबार भव्य रूपमा सम्पन्न भएको छ। बर्दघाट नगरपालिकालाई ‘योग नगर’ बनाउने विशेष अभियानसहित बर्दघाट मण्डपमा आयोजित बृहद् योग शिविरमा नगरबासीको उत्साहजनक सहभागिता रहेको थियो।
लुम्बिनी प्रदेश सभा अन्तर्गत कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त विशेष समारोहमा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ र उपप्रमुख रुद्र प्रकाश उपाध्यायको विशिष्ट उपस्थिति रहेको थियो। बिहान ५:०० बजेदेखि सुरु भएको उक्त सामूहिक योग अभ्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी, सामाजिक अगुवा, उद्योगी व्यवसायी एवं आम सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाठकले योग नेपाली सभ्यता, दर्शन र संस्कृतिसँग जोडिएको अमूल्य सम्पदा भएको उल्लेख गर्नुभयो। स्वस्थ, अनुशासित र सकारात्मक समाज निर्माणका लागि योगको नियमित अभ्यास अपरिहार्य रहेको बताउँदै उहाँले योगले शारीरिक तन्दुरुस्तीका साथै मानसिक शान्ति, आत्मविश्वास र कार्यक्षमता वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।
समारोहमा बर्दघाट नगरपालिकाका नगर प्रमुख श्रेष्ठले बर्दघाट नगरपालिकालाई ‘योग नगर’ घोषणा गर्ने दीर्घकालीन लक्ष्यसहित नगरले योग अभियानलाई गौरवका साथ अघि बढाएको जानकारी दिनुभयो। नगर प्रमुख श्रेष्ठले नागरिकको स्वास्थ्य प्रवर्द्धन, नसर्ने रोगहरूको रोकथाम तथा स्वस्थ जीवनशैलीको विकासका लागि योगलाई नगरको प्राथमिक कार्यक्रमका रूपमा स्थापित गरिनेछ भन्नुभयो।
बर्दघाट नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा योग प्रशिक्षकहरूले सहभागीहरूलाई विभिन्न उपयोगी योगासन, प्राणायाम तथा ध्यानको प्रत्यक्ष अभ्यास गराएका थिए। आज सम्पन्न यस कार्यक्रमले नगरबासीमा योगप्रतिको चासो र जागरणलाई थप उचाइमा पुर्याएको र स्वस्थ समाज निर्माणको अभियानमा बलियो जग बसालेको आयोजकले जनाएको छ।