लोकहरि पाण्डेय
बर्दघाट,असार ५
वैदेशिक रोजगारीबाट फर्किएका तथा बेरोजगार युवाहरूलाई स्वदेशमै आत्मनिर्भर र उद्यमी बनाउन उद्देश्यले बर्दघाट नगरपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा तीन दिने उद्यमशीलता प्रवर्द्धन तालिम सुरु भएको छ।
तालिम उद्घाटन कार्यक्रममा बाेल्दै प्रमुख अतिथि नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरपालिकाले बेरोजगार युवा तथा वैदेशिक रोजगारीबाट फर्किएका नागरिकहरूलाई लक्षित गरी रोजगारीमूलक तथा सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि युवाहरूलाई उद्यमी बन्न प्रेरित गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै यस्ता अवसरबाट आम नागरिकले अधिकतम लाभ लिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत पौडेल ले यस्ता तालिमहरू वर्तमान समयको आवश्यकता भएको बताउँदै उद्यमशीलता विकासमार्फत युवाहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने धारणा राख्नु भयो। वैदेशिक रोजगारी एक बाध्यता हो, वैदेशिक रोजगारीमा गएर फर्किएपछि परिवार र समाजमा बसेर नेपालमै केही गर्न सकिन्छ कि भनेर जानकारी दिने उद्देश्यले राखिएको कार्यक्रमलाई भरपुर सदुपयोग गर्न अनुरोध गर्नुभयो। जब सहभागी उद्यमी हुन्छन् तब मात्र यो कार्यक्रमको उद्देश्य पूरा हुन्छ भन्नुभयो। उहाँले उद्यम सञ्चालनका क्रममा आइपर्ने जोखिमहरूको उचित व्यवस्थापन (रिस्क म्यानेजमेन्ट) गर्न सक्ने क्षमता विकास गर्न यस्ता तालिम उपयोगी हुने उल्लेख गर्दै सहभागीहरूलाई सफल उद्यमी बन्न प्रेरित गर्नुभयो।
त्यसैगरी तालिमका मुख्य प्रशिक्षक सिद्धि शिवाकटीले सहभागीहरूलाई उद्यमशीलता, व्यवसाय योजना, अवसरको पहिचान, जोखिम व्यवस्थापन तथा सफल उद्यम सञ्चालन सम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो। बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने कार्यक्रममा उपप्रमुख रुद्रप्रकाश उपाध्याय, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल, पुष्कर काफ्ले, मन्जु खनाल , रोजगार शाखा प्रमुख जंगबहादुर मल्ल,सामी कार्यक्रमका स्वयंसेवक लगायतको उपस्थिति रहेको थियो ।
तीन दिनसम्म सञ्चालन हुने उक्त तालिममा वैदेशिक रोजगारीबाट फर्किएका तथा बेरोजगार व्यक्तिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। तालिमबाट सहभागीहरूमा उद्यमशील सोचको विकास भई स्वरोजगार तथा रोजगार सिर्जनामा टेवा पुग्ने अपेक्षा गरिएको छ।
