sunwal

राष्ट्रिय लक्ष्य प्राप्तीमा विचलिन नभई कामगर्न अतिरिक्त महानिरिक्षक गणेश ठाडामगरको निर्देशन

711

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–४
सरकारको मार्गनिर्देशन अनुसार राष्ट्रिय लक्ष्य प्राप्तीमा विचलिन नभई काम गर्न सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक गणेश ठाडा मगरले निर्देशन दिनुभएको छ । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा तालिम शिक्षालयको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरिक्षक ठाडाले उक्त निर्देशन दिनु भएको हो ।

ससशस्त्र प्रहरीको सांगठनिक गौरव र श्रीबृद्धिमा लाग्न अतिरिक्त महानिरिक्षक ठाडा मगरले निर्देशन दिनुभयो । विश्व भुराजनितिमा आएको बदलाव, प्रविधिले ल्याएको चुनौति, जलवायु परिवर्तनले ल्याएको चुनौति, नकारात्मक सोचले गाँजेको सामाजीक परिदृश्यको माझमा प्रहरी प्रतिको निष्ठा, अनुशासन, समर्पण र राष्ट्र सेवाको अधम्य प्रतिबद्धताको प्रतिक रहेर सेवामा समर्पित हुन निर्देशन गर्नु भएको थियो ।

पूर्व प्रदेश मन्त्री कल्पना पाण्डेको समेत सहभागिता रहेको कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख सम्भुलाल श्रेष्ठले शिक्षालयले नगरको विकासका लागि पनि योगदान पु¥याएको बताउनु भएको थियो । विशेषगरी नगर भित्र रहेका पर्यटकिय स्थलहरुको सरसफाई, बर्दघाट हुँदै कैलाश धाम पुग्ने पदमार्ग निर्माण देखी पर्यावरणीय क्षेत्रमा समेत धेरै कार्यहरुमा सशस्त्र प्रहरीले सहयोग गरेको श्रेष्ठले स्मरण गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख जील्ला अधिकारी दिपकराज नेपालले शिक्षालयले गौरवमय २५ औँ बर्ष पार गरेकोमा शुभकामना ब्यक्त गर्दै सशस्त्र प्रहरीले पु¥याएको योगदानको प्रशंसा गर्नु भएको थियो । उहाँले सिमाबाट हुने अबैध चोरी निकासी रोक्नका लागि थप सक्रिय हुनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नु भयो ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा तालिम शिक्षालयका समादेशक तिर्थराज पौडेलको अध्यक्षता सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक गणेश ठाडामगरको प्रमुख आतिथ्यता र दिपक बहादुर जयडाँगीको सञ्चालन रहेको कार्यक्रममा विभिन्न पालिका प्रमुख तथा उपप्रमुखहरु सहित नवलपरासी जिल्लाका सामाजिक संघसंस्था र कार्यालयका प्रमुखहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा तालिम शिक्षालयले २५ औँ स्थापना दिवस रजत जयन्तीको अवसर पारेर विभिन्न खेलकुद प्रतियोगिताका विजेता र उत्कृष्टता हासिल गर्नेहरुलाई सम्मान तथा पुरस्कृत समेत गरिएको थियो । शिक्षालयलाई सहयोग गर्ने सहयोगी महानुुभावहरुलाई पनि कदर पत्र प्रदान गरिएको थियो ।

२०७४ साल मंसिर ५ गतेबाट सशस्त्र प्रहरीबल नेपाल सीमा सुरक्षा तालिम महाविद्यालयको रुपमा संचालन भैरको मा २०७५ जेठ २७ गतेको नेपाल सरकारको निर्णय अनुसार सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा तालिम शिक्षालयको रुपमा रुपान्तरण भई कार्य गर्दै आइरहेको छ ।

विक्रम सम्वत् २०५८ साल जेठ ४ गते देखि सिन्धुपाल्चोकको डाँडापाखरमा तत्कालिन प्रहरी युक्ति तालिम महाविद्यालय सशस्त्र प्रहरीलाई हस्तान्तरण भै २०५८ फागुन ९ कास्की जील्लाको लामापाटामा स्थानान्तरण भएको थियो । तत्कालिन अवस्थामा विभिन्न आधारभुत तथा उन्नत तालिमहरु संचालन गर्दै आएकोमा २०६१ मंसिर १६ गतेको निर्णय अनुसार साविक नवलपरासी माकर गाविस वडा नम्बर ४ हालको स्थानमा पुन स्थानान्तरण भएको थियो ।