sunwal

सशस्त्र प्रहरीलाई सर्पदंश सम्बन्धी सचेतना

550

बर्दघाट,बैशाख–३१

सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा सशस्त्र प्रहरी लक्षित सर्पदंश सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक तिर्थराज पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा करिब ४५० जना सशस्त्र प्रहरीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सर्पदंशबाट हुने जोखिम, विषालु तथा अविषालु सर्पको पहिचान, सर्पदंश भएमा अपनाउनुपर्ने प्रारम्भिक उपचार विधि तथा समयमै अस्पताल पुग्नुको महत्वबारे जानकारी गराइएको थियो । साथै, सर्पदंशका घटनामा गरिने सामान्य गल्तीहरूबारे पनि सहभागीलाई सचेत गराइएको थियो ।

 

प्रशिक्षकका रूपमा सहभागी प्रशिक्षकद्वय दुर्गा लामिछाने र राज अधिकारीले व्यवहारिक तथा प्रयोगात्मक शैलीमा प्रशिक्षण दिँदै सर्पदंश न्यूनीकरण र जीवनरक्षासम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरेका थिए । कार्यक्रममा सहभागी सशस्त्र प्रहरीहरूले तालिम निकै उपयोगी र प्रभावकारी भएको बताए ।

हरेक परिस्थितिमा खटिने सुरक्षाकर्मीहरू प्राकृतिक तथा विषालु जीवजन्तुको जोखिममा रहने भएकाले यस्ता सचेतनामूलक कार्यक्रमले कार्यक्षेत्रमा थप सतर्कता र आत्मविश्वास बढाउने विश्वास व्यक्त गरिएको थियो ।