sunwal

पूर्व प्रधानमन्त्री टङ्क प्रसाद आचार्यको जन्मघर खण्डहर बन्दै

773

रामग्राम,बैशाख–३०

पश्चिम् नवलपरासीको सदरमुकाम परासी स्थित रामग्राम-३ मा मालपोत कार्यलय परिसर भित्र रहेको पूर्व प्रधानमन्त्री टङ्क प्रसादआचार्यको घर जिर्णोद्वारको पर्खाईमा रहेको छ ।

नेपालको राजनीतिक ईतिहासमा पहिलो पार्टीको रुपमा रहेको नेपाल प्रजा परिषदका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री टङ्क प्रसाद आचार्यको जन्म घर पुरातत्त्व बिभागको उदासीनताले खण्डहरमा परिणत हुने अवस्थामा पुगेको हो ।

राणा शासनका विरुद्ध अग्रणी भूमिका खेलेका आचार्य तत्कालिन राजा महेन्द्रको पालामा २०१२ फागुन १५ देखि २०१३ माघ सम्म प्रधानमन्त्री समेत बनेका थिए ।

प्रजातान्त्रिक आन्दोलनका सुत्रधारका रुपमा रहेका टङ्कप्रसाद आचार्य जन्मेको घरलाई पुरातात्त्विक स्मारकको रूपमा संरक्षण गर्नका निम्ति संग्राहलयमा रुपान्तरण गर्न लुम्बिनी प्रदेश सरकारले दुई दुई पटक ५०/५० लाख बिनियोजन भएपनी कार्यान्वयनमा आउन नसक्दा बजेट फ्रिज भएको थियो ।पुरातत्व बिभागले जिर्णोद्वार गर्नका लागि रोक लगाएपछि बजेट कार्यान्वयन हुन नसकेको लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जैसवालले बताए ।

यस बिषयमा जानकारी लिदा लुम्बिनी प्रदेशका मुख्य मन्त्री चेतनारायण आचार्यले यसप्रति अनभिज्ञता प्रकट गरे।”त्यतिखेर खै के कारणले बजेट कार्यान्वयन हुन पाएन,अहिले फेरी प्रतिष्ठान र त्यस्ता कुरामा संघ सरकारले लगानी नगर्नु भनेको छ”मुख्यमन्त्री आचार्यले भने ।

रामग्राम नगरपालिका,प्रतिष्ठान र प्रदेश सांसद जैसवालको पहलमा यो एतिहासिक घरको संरक्षण गर्न खोजिएपनी पुरातत्त्व बिभाग र सरोकारवाला निकायको उदासीनताका कारण आचार्यको जन्मस्थल धरोहरको रुपमा रहेको यो घर दिनप्रतिदिन घाम पानीले मक्किदै गएको छ ।

सम्बन्धित निकायको उदासीनताका कारण यो घर संरक्षणको पर्खाईमा रहेको स्थानीय राम प्रसाद आचार्यले जानकारी दिए ।”हामीले सुन्थियौ तत्कालिन समयमा पाल्हिनन्दनमा मालपोत कार्यालय थियो र मालपोतमा स्व.टङ्क प्रसाद आचार्यका बुवा काम गर्नु हुन्थ्यो,यहाँ देखि घोडा चढेर उहाँका बुवा धर्मानन्द आचार्य मालपोत जानू हुन्थ्यो रे हामिले सुनेका हौं”स्थानीय आचार्यले भने ।

नेपालमा प्रजातन्त्र ल्याउन र अपहरित प्रजातन्त्रलाई पुनर्बहाली गर्न टंकप्रसादको योगदान रहेको छ। नेपालका कैयौं राजनीतिक योद्धामध्ये टंकप्रसाद एक भएको र उनको स्मरणका लागि यो घरको जिर्णोद्वार गर्नु पर्ने बताईन्छ ।