प्रथम बर्दघाट एक्स्पोको आय–व्यय सार्वजनि
बर्दघाट,चैत्र २८
नवलपरासी ।बर्दघाट उद्योग व्यापार संघ द्वारा आयोजित पश्चिम नवलपरासीको बर्दघाटमा सम्पन्न प्रथम बर्दघाट एक्स्पोको आय–व्यय विवरण सार्वजनिक गरिएको छ। आयोजक समितिले शनिबार पत्रकार सम्मेलन मार्फत एक्स्पोको सम्पूर्ण आर्थिक गतिविधि पारदर्शी रूपमा सार्वजनिक गरेको हो।
संघका कोषाध्यक्ष दिपक थापाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार एक्स्पोमा ७१ लाख ७६ हजार ६ सय ४८ रुपैयाँ खर्च भएको छ भने ७ लाख २० हजार २ सय ७२ रुपैयाँ आम्दानी भएको छ ।कुल कारोबार ७८ लाख ९६ हजार ९ सय २० भएको जनाईएको छ ।
आयोजकका अनुसार एक्स्पो सञ्चालनका क्रममा स्टल भाडा, प्रायोजन, टिकट बिक्री लगायत विभिन्न शीर्षकबाट आम्दानी भएको थियो भने व्यवस्थापन, संरचना निर्माण, प्रचारप्रसार, सांस्कृतिक कार्यक्रम ,सचिवालय ब्यवस्थापन तथा अन्य व्यवस्थापनमा रकम खर्च भएको जनाइएको छ।
संघले मनोरञ्जन कर बापत स्थानीय सरकारलाई ३ लाख ३३ हजार २ सय ८८ रुपैयाँ कर तिरेको समेत जनाएको छ ।एक्सपोमा राखिएका कृषि स्टलमा उत्कृष्ट किसानलाई नगद रु ३० हजार राशी पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
आर्थिक विवरण सार्वजनिक गर्दै ब्यापार संघका अध्यक्ष राजु न्यौपानेले एक्स्पो सफल बनाउन सहयोग गर्ने स्थानीयवासी, व्यवसायी, प्रायोजक तथा सरोकारवाला निकायप्रति आभार व्यक्त गरेका छन्। साथै, आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
स्थानीय स्तरमा व्यापार, पर्यटन तथा सांस्कृतिक प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोले सकारात्मक प्रभाव पारेको आयोजकको दाबी छ।
