बर्दघाट,चैत्र २७
१० औं संस्करणको सुर्यनगर गोल्डकप आज अर्थात चैत्र २७ गतेबाट सुरु हुदै छ । जिल्लाकै सर्वाधिक पुरस्कार राशिको गोल्डकपको सम्पुर्ण तयारी पूरा भएको आयोजकले बिहिवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको थियो ।
गोल्डकप सञ्चालनका लागि बर्दघाट नगरपालिकाले बजेट कितावमै १२ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । नव युवा क्लव बर्दघाट १६ को आयोजना र बर्दघाट नगरपालिकाको संरक्षकत्वमा गोल्डकप सञ्चालन हुँदै आएको छ।
गत बर्षको तुलनामा आम दर्शकका लागि यसपटक भने टिकट दर घटाईएको आयोजकले जनाएको छ । वडा नम्बर १६ का अध्यक्ष एवम् फुटबल संघ लुम्बिनी प्रदेश महासचीव भिमकाजी गुरुङका अनुसार बहुप्रतिक्षित गोल्डकपका लागी दैनिक टिकटदर रु ५०,सेमिफाइनल टिकट दर रु १०० र फाईनल खेलको टिकट दर रु २ सय कायम गरिएको छ ।
प्रथम हुने टिमले नगद रु ६ लाख ६६ हजार ६ सय ६६ रुपैया र द्वितीय हुने टिमले ३ लाख ३३ हजार ३ सय ३३ रुपैया पुरस्कार राशी प्राप्त गर्ने छ्न ।गोल्डकप अवधिभर विभिन्न बिधामा उत्कृष्ट खेलाडीहरुले समेत नगद पुरस्कार मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष धन सिंह चितौरेले बताए ।
प्रतियोगिता सञ्चालनका लागि विभिन्न संघ सस्था र सहयोगी दाताहरुबाट सहयोग संकलनको काम भैरहेको आर्थिक संयोजक प्रदिप अधिकारीले बताए ।सुर्यनगर गोल्डकप समग्र बर्दघाट नगरपालिका र जिल्लाकै चिनारी सग जोडिएको वडा अध्यक्ष भिमकाजी गुरुङले उल्लेख गरे ।
सुर्य नगर गोल्डकपका लागि बर्दघाट नगरपालिकाले ५ लाख बजेट विनियोजन गरी संरक्षकत्वको सुरुवात हुँदै आएकोमा हाल नगरपालिकाले यसको बजेटमा उल्लेख वृद्धि गर्दै १२ लाख ५० हजार रुपैयाँ बिनियोजन गरिएको छ । खेल सञ्चालनका लागि करिब २५ लाख खर्चको अनुमान गरिएको खेलका आर्थिक संयोजक प्रदिप अधिकारीले जनाए ।
उद्घाटन शत्रको खेल हर्दी युवा समाज चितवन र हेटौंडा एकेडेमी मकवानपुरबिच हुने खेल संयोजक मीन गुरुङले बताए । खेलमा ८ टिमको सहभागिता रहेको छ ।
सुर्य नगर गोल्डकप यस क्षेत्रकै चर्चित फुटबल प्रतियोगिता हो । खेलको समापन बैशाख ४ गते हुने जनाईएको छ ।
