फाल्गुन ७
पूर्वमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का नेता हृदयेश त्रिपाठीले वर्तमान निर्वाचनले देशका जटिल समस्याहरू समाधान नगर्ने दाबी गरेका छन्। उनले यो निर्वाचनले समस्यालाई केही समयका लागि मात्र सार्ने तर स्थायी समाधान नदिने बताएका हुन्।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–३ ठुलोखैरेटवामा आयोजित कोणसभालाई सम्बोधन गर्दै त्रिपाठीले भने, “यो सामान्य निर्वाचन होइन। देशका वास्तविक मुद्दा र समस्यामाथि कुनै पनि दलबाट गम्भीर बहस चलिरहेको छैन। यस अवस्थामा निर्वाचनपछि पनि समस्या ज्युँका त्युँ रहने खतरा छ।”
उनले निर्वाचनपछि गठन हुने प्रतिनिधिसभाले देशलाई कुन दिशातर्फ लैजाने भन्ने विषयमै अन्योल देखिएको टिप्पणी गरे। केही राजनीतिक शक्तिहरू हावी हुन खोजेकाले देशका आधारभूत मुद्दा ओझेलमा परेको उनको आरोप थियो।
त्रिपाठीले संविधानमाथि नै संकट आउन सक्ने संकेत गर्दै संविधानले सुनिश्चित गरेको जनअधिकार, पहिचान, संघीयता, आरक्षण तथा मधेशी, मुस्लिम र दलित समुदायको हक–अधिकार जोखिममा पर्न सक्ने चेतावनी दिए। वर्तमान राजनीतिक ध्रुवीकरणले संविधानको सार्वभौमसत्ता र राजकीय सत्तामाथि प्रहार हुन सक्ने अवस्था देखिएको उनको दाबी छ।
उनले संविधानको रक्षा गर्न आफूहरू संसद र सडक दुवै ठाउँमा संघर्ष गर्न तयार रहेको स्पष्ट पारे।
हाल त्रिपाठी नवलपरासी निर्वाचन क्षेत्र नं. १ बाट जनता समाजवादी पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन्। चुनावी अभियानअन्तर्गत घरदैलो तथा मतदाता भेटघाटमा सक्रिय रहेका उनले आज ठुलोखैरेटवामा चुनाव प्रचार कार्यालय उद्घाटन गर्दै विभिन्न दलका कार्यकर्ताहरूलाई जसपामा प्रवेश गराएका छन्।
नवलपरासी निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम खनाल, एमालेका रामप्रसाद पाण्डे तथा नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार डा. सिन्धु जलेसासँग त्रिपाठीको चुनावी प्रतिस्पर्धा रहेको छ।
