Bardaghat Na pa

बर्दघाट एक्सपोमा स्थानीय महिला उद्यमीहरूको उल्लेख्य सहभागिता

बर्दघाट एक्सपोमा स्थानीय महिला उद्यमीहरूको उल्लेख्य सहभागिता

489

बर्दघाट, माघ– १६
बर्दघाटमा सञ्चालित प्रथम बर्दघाट एक्सपोमा स्थानीय महिला उद्यमीहरूको उल्लेख्य सहभागिता देखिएको छ। खाजाघरदेखि हस्तकला, अचार, खाद्य सामग्री, झोला, सरसफाइ तथा सौन्दर्य सामग्रीसम्म लिएर महिला उद्यमीहरू व्यवसायिक पहिचान निर्माणमा जुटेका छन्।
हरियालीनगर आमा समूह, सम्झना आमा समूह, मगर तथा गुरुङ समूहले सेलरोटी, घोगी, ठेकुवा, बटुक, बंगुरको मासुका परिकारजस्ता स्थानीय उत्पादनलाई बजारीकरण गरेका छन्। त्यस्तै भाऊजु अचार उद्योग, महिला अधिकार मञ्च बर्दघाट–१४, दाऊन्ने अचार, आमा–छोरी अचार, मिना गुरुङ अचारलगायतले अचारजन्य उत्पादन प्रदर्शन गरेका छन्।


दाऊन्ने देवी महिला बहुउद्देश्यीय सहकारी संस्थाले महिला उद्यमीले तयार पारेका झोला प्रदर्शनीमा राखेको छ भने सुस्ताको केरा चिप्स लिएर अमृता पन्थी एक्सपोमा सहभागी हुनुभएको छ। हस्तकला क्षेत्रमा जस्मिन श्रेष्ठ, सेतीमाया गुरुङ, माया थापा र तारा कुमारी गुरुङले हातले बनाएका डल, चुरा, पोते, माला र कुशन प्रदर्शनीमा राखेका छन्।

सरसफाइ सामग्रीसहित उत्साह नेपाल, अन्जान गिरी र लक्ष्मी कुमारी विक सहभागी छन् भने नर्सरी तथा ब्यूटी पार्लरसहित गीता सापकोटा ढकालको पनि उपस्थिति रहेको छ। गृहलक्ष्मी खाद्यन्न उद्योगमार्फत मिना गुरुङ र प्रेमकला अधिकारीले अचार, गुन्द्रुक, पिठो, नमकिन, भूजिया र खजुरीजस्ता उत्पादन प्रस्तुत गरेका छन्।
एक्सपोमा सहभागी महिला उद्यमीहरूले उत्साहजनक वातावरण भए पनि दीर्घकालीन बजारीकरण, प्रविधि, स्थायी विक्री केन्द्र र स्थानीय सरकारको नीतिगत सहयोग आवश्यक रहेको गुनासो गरेका छन्। महिला अधिकार मञ्च बर्दघाट–१४ की अध्यक्ष जमुना तिवारी शर्माले कोशेली घरको अवधारणामा स्थायी विक्री केन्द्र स्थापना गरिए महिला उद्यमी थप उत्साही हुने बताउनुभयो।
हस्तकला उद्यमी माया थापाले उत्कृष्ट महिला उद्यमीलाई सम्मान तथा आर्थिक–नीतिगत सहयोग गरे व्यवसाय विस्तारमा टेवा पुग्ने बताउनुभयो। दाऊन्ने देवी महिला सहकारीकी अध्यक्ष देवी पौडेलले एक्सपोले तत्कालीन व्यापारमा सहयोग गरे पनि स्थायी बजार र प्रविधिमा स्थानीय सरकारको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।
आयोजक समितिका संयोजक राजु न्यौपानेले महिला उद्यमीको सहभागिता उत्साहजनक रहेको बताउँदै निःशुल्क तथा सहुलियत दरमा स्टल उपलब्ध गराइएको जानकारी दिनुभयो।