Bardaghat Na pa

बर्दघाट नगरमा ए.आई. एक्सरेद्वारा समुदायस्तरमा क्षयरोगको पहिचान गरीदै

479

कृष्ण ढकाल
बर्दघाट,पौष–१४

पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एक्सरेद्वारा समुदायस्तरमा क्षयरोगको पहिचान गर्नेकार्यलाई तीव्र पारिएको छ। समुदायस्तरमा लुकेर रहेको सङ्क्रमण पत्ता लगाउन र समयमै उपचार सुरु गर्न एआई एक्सरे प्रविधि अत्यन्तै उपयोगी रहेकाले बर्दघाट नगरपालिकाले यहि पौष १७ गते देखि एआई एक्सरेद्वारा समुदायस्तरमा क्षयरोगको पहिचान गर्नेकार्य शुरु गर्ने जनाएको छ ।

बर्दघाट नगरपालिकाले वडा नं. १४ मा सोमवार आयोजना गरेको “एआई प्रविधिको प्रयोगबाट सक्रिय क्षयरोग खोजपताल सम्वन्धि अभिमुखिकरण कार्यक्रममा” उक्त कुराको जानकारी गराइएको थियो ।
दाउन्ने देवि स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. १४का वडाध्यक्ष सन्त बहादुर गाहाको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय नवलपरासीका देवकी नारायण आचार्य र बर्दघाट नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत रिकमान श्रेष्ठले सहजीकरण गर्नु भएको थियो ।

वडा नं. १४ र १५ का सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकाहरु,स्वास्थ्यकर्मी र स्वास्थ्य चौकी ब्यवस्थापन समितिका पदाधिकारी र पत्रकारहरुको सहभागिता रहेको उक्त कार्यक्रममा पौष १७ गते सञ्चालन गरीने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एक्सरेद्वारा समुदायस्तरमा क्षयरोगको पहिचान कार्यक्रमलाई प्रभावकारी बनाउने बिषयमा जिम्मेवारी बाँडफाँड सहितको छलफल भएको थियो ।

एआई एक्सरेद्वारा समुदायस्तरमा क्षयरोगको पहिचान गर्नेकार्यमा ६० बर्ष उमेर समुह भन्दा माथीका सबै जेष्ठ नागरीकहरु,सुगर,प्रेसर दम लगाएतका दिर्घरोगीहरु,१५ बर्ष माथीका कुपोषीत ब्यीक्तहरु,लामो समयसम्म रुघा खोकी लागेका वा क्षयरोगका लक्षण भएका व्यक्तिहरू र क्षयरोग निको भएका वा औषधि सेवन गरिरहेका बिरामीहरूका घरपरिवारका सदस्यहरुलाई लक्षीत गरीएको बर्दघाट नगर स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत कृष्णहरि पौडेलले बताउनु भएको छ

समयमा नै रोग पत्ता लगाउँदा निवारण गर्न समेत सहज हुने भएकाले शिविरबाट शङ्कास्पद बिरामीहरूको थप पहिचानका लागि उनीहरूको खकार नमुना सङ्कलन गरी अस्पताल पठाइने र उक्त नमुनाको प्रयोगशाला परीक्षणपछि क्षयरोग पुष्टि भएमा तत्काल उपचारको प्रक्रियामा ल्याइने स्वास्थ्य अधिकृत पौडेलको भनाई रहेको छ ।

क्षयरोगको लक्षण नदेखिएका तर शरीरभित्र किटाणु बोकेर बसेका सम्भावित बिरामीहरूलाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य कार्यालय, नवलपरासी संगको समन्वयमा विराट नेपाल मेडिकल ट्रष्ट को संयुक्त सहकार्यमा शिविर आयोजना गरिएको बताईएको छ ।