Bardaghat Na pa

लागूऔषध नियन्त्रण अभियानका क्रममा ४ जना पक्राउ

494

बर्दघाट– पुष –८
जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासी ले विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण अभियानका क्रममा ४ जना व्यक्तिलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सोमबार अपराह्न करिब ५:४५ बजे जिल्ला नवलपरासी रामग्राम नगरपालिका वडा नं. १२ स्थित दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु ३७ प १२९२ नम्बरको मोटरसाइकल लाई रोकी चेकजाँच गर्दा पाल्हीनन्दन गाउँपालिका वडा नं. ६ पडरी निवासी वर्ष ३० का सहरीदिन अन्सारी जोलाहा र सोही ठाउँ बस्ने वर्ष १९ का कृष्ण कुमार चौधरी लाई लागूऔषधसहित नियन्त्रणमा लिइएको हो।

थप सूचनाका आधारमा प्रहरीले सोही दिन राति करिब ११:४५ बजे रामग्राम नगरपालिका वडा नं. ४ स्थित टोलपुर नजिक भारततर्फबाट आउँदै गरेको UP 56 BE 5537 नम्बरको भारतीय मोटरसाइकल लाई चेकजाँच गर्दा भारत उत्तर प्रदेश, महाराजगञ्ज जिल्ला, ठुटीबारी बस्ने वर्ष २७ का इरशाद अली र वर्ष २८ का नबि रसुल लाई पक्राउ गरेको छ।

त्यसपछि प्रहरीले थप अनुसन्धानका क्रममा सहरीदिन अन्सारी जोलाहाको पाल्हीनन्दन गाउँपालिका वडा नं. ६ स्थित घरको माथिल्लो तलामा रहेको कोठा खानतलासी गर्दा सफारी लेखिएको हरियो झोलाभित्र लुकाई राखिएको थप लागूऔषध बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सोमदास ढकालका अनुसार बरामद कुल डाइजेपाम २०५७ एम्पुल, फेनारगन २०९१ एम्पुल र बुप्रेनोर्फिन २०५९ एम्पुल गरी जम्मा ६ हजार २ सय ७ एम्पुल लागूऔषध, ६ थान मोबाइल फोन, २ थान मोटरसाइकल तथा नगद नेपाली रुपैयाँ ४० हजार बरामद गरिएको छ।

बरामद लागूऔषधको अनुमानित मूल्य चार लाख रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।पक्राउ परेका चारै जनालाई मङ्गलबार नवलपरासी जिल्ला अदालत, परासी बाट १० दिनको म्याद थप गरी लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको निरीक्षक ढकालले जानकारी दिनुभयो ।