बर्दघाट ,पाैष – ४
सानाकिसान दाउन्नेदेवी कृषि सहकारी संस्थाको २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष देविप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न साधारण सभामा बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो ।
कार्यक्रममा जिल्ला कृषि सहकारी संघका अध्यक्ष मथुरा चौधरीको विशेष उपस्थिति रहेको थियो भने स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष दिपा गुरुङले राख्नुभयो । संस्थामा १ हजार २ सय जना शेयर सदस्य रहेका छ्न ।
कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले सहकारीले कृषकको आर्थिक सशक्तिकरणमा खेलेको भूमिकाको प्रशंसा गर्दै पारदर्शिता र अनुशासनलाई अझ मजबुत बनाउन सुझाव दिनुभयो।सहकारीले ॠण लगानी र असुलीलाई मात्रै नभै शेयर सदस्यहरुको जिविकोपार्जन र आर्थिक अवस्था सुधारका लागि ठोस कार्यक्रमहरु सञ्चालन गरिनु पर्नेमा जोड दिनुभयो ।रासायनिक मल बितरणका लागि कृषकहरुलाई कृषक कार्ड बितरण गरी बितरण प्रणालीलाई पारदर्शी र सहज बनाउन लागि परेको नगरप्रमुख श्रेष्ठले बताउनु भयो ।
सभामा अध्यक्ष देविप्रसाद अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका आगामी कार्ययोजना सार्वजनिक गर्नुभएको छ। प्रतिवेदनअनुसार कर्जा जोखिम न्यूनीकरणका लागि अब २ लाख रुपैयाँभन्दा माथिको कर्जामा ऋणीले अनिवार्य रूपमा धितो दृष्टिबन्धक राख्नुपर्ने प्रावधान लागू गरिने अधिकारीले उल्लेख गर्नु भयो ।
यसैगरी कृषि यान्त्रिकिकरण कार्यक्रमअन्तर्गत कृषक शेयर सदस्यलाई कृषिको व्यवसायिकरणका लागि ५० प्रतिशत अनुदानमा कृषि उपकरण उपलब्ध गराउने योजना अघि सारिएको छ। संस्थाले प्रदान गर्ने कर्जाको अधिकतम सीमा १५ लाख रुपैयाँ रहेको छ।
रासायनिक मल वितरणका लागि हाल ठाउँ अभाव भएकाले आगामी दिनमा संस्थाले वातानुकूलित रासायनिक मल भण्डार गृह निर्माण गर्ने योजना बनाएको छ। साथै सहकारी व्यवस्थापनलाई प्रभावकारी बनाउन कोपोमिस (COPOMIS) प्रणाली कार्यान्वयनमा विशेष प्राथमिकता दिइने अध्यक्ष अधिकारीले बताउनुभयो ।
सभामा खराब कर्जाको अवस्थाबारे पनि जानकारी दिँदै हाल ३८ जना खराब ऋणी रहेको र उनीहरूलाई हुलाकमार्फत पत्राचार गरी कर्जा असुली प्रक्रिया अघि बढाइने प्रवन्धक नवीन घिमिरेले जानकारी दिनुभयो ।
प्रतिबेदन अनुसार संस्थाले ३६ लाख ९५ हजार ९ सय १५ रुपैयाँ खुद नाफा गरेको छ भने ७८ लाख ५२ हजार ४ सय ६४ रुपैयाँ ब्याज असुली बाकी रहेको सस्थाले जनाएको छ ।असुल उपर गर्नुपर्ने भाखा नाघेको रकम १ करोड ५८ लाख १३ हजार २ सय ७ रुपैयाँ रहेको छ ।
कार्यक्रममा उत्कृष्ट कृषक,असल ॠणि,बचतकर्ता, पशुपालक कृषक विभिन्न बिद्यामा उत्कृष्ट काम गरेका शेयर सदस्य लगायतलाई सम्मान गरिएको छ ।सामाजिक उत्तरदायीत्व बहन गर्दै संस्थाले बिभिन्न सामाजिक सेवा मुलक काम गर्दै आईरहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
साधारण सभाले संस्थाको वार्षिक प्रतिवेदन र आगामी कार्ययोजनालाई सर्वसम्मत रूपमा पारित गरेको छ।
