कृष्ण ढकाल
बर्दघाट,पुष–३
बर्दघाट नगरको शैक्षिक स्तर सुधार्नका लागि नगरसरकार लागिपरेको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ ।
विद्यालयहरुको भौतिक अवस्था सुधार देखि शिक्षकहरुको स्तर उन्नतीका लागि बजेट बढाएर मात्र परिणाम नआउने भएकाले सबै शिक्षकहरुले मिहिनेत गरेर ६० प्रतिशत भन्दा माथि शैक्षिक परिणाम आउने गरी तयारीमा लाग्न नगरप्रमुख श्रेष्ठले शिक्षकहरुलाई निर्देशन गर्नु भएको थियो ।
बर्दघाट नगरपालिकाले आज विहिवार आयोजना गरेको सामुदायिक विद्यालयहरु तर्फका कक्षा ८ को नतिजा विषलेशण तथा छलफल कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले उक्त कुरा बताउनु भएको हो । नगरमा शिक्षाको स्तर र गुणस्तरलाई सुधार्नका लागि नगरले सट्टा शिक्षक राख्न पाउनेगरी बजेट समेत ब्यवस्था गरेको जानकारी गराउनु भएको थियो ।
त्यसैगरी सोही कार्यक्रममा बोल्दै नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले बिषयगत शिक्षकहरुको उचीत ब्यवस्थापन गर्न नसक्दा समस्या भैरहेको धारणा राख्नु भएको थियो । उहाँले विगतको भन्दा अहिले केहि शैक्षिक सुधार भएको भएपनि पुरानै तरीकाले शिक्षण सिकाइ गराउने तर शिक्षकहरुले आफुलाई परिवर्तन गर्न नचाँहदा रिजल्ट सोँचे जस्तो नआएको बताउनु भएको थियो ।
त्यस्तै सामाजिक विकास समितिका संयोजक भिमकाजी गुरुङले बर्दघाट नगरको शिक्षालाई सुधार्न गत वर्ष सबै विद्यालयहरुमा आफै निरिक्षण गरी झक–भकाएको बताउनु भयो । उहाँले शैक्षिक अवस्था कम्जोर भएका विद्यालय र तिनका बिषयगत शिक्षकहरुसँग फेरी बसेर छलफल गरी त्यहाँको शैक्षिक गुणस्तर सुर्धान विषेश योजनाका साथ अघि बढ्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।
बर्दघाट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शालिकराम पौडेलले नगरको योजना र शिक्षकहरुको मिहिनेतले मात्र शिक्षामा सुधार आउने भएकाले सबै शिक्षकहरुले जिम्मेवार भएर काम गर्नु पर्ने बताउनु भयो । उहाँले नगरका सबै विद्यालयहरुमा गणीतको नतिजा कम्जोर आएको पाईएकाले यस विषयमा नगरले गणीतका शिक्षकहरुसँग बसेर छलफल गरी आगामि रिजल्टलाई सुधारेर लैजानेगरी अघि बढ्ने बताउनु भएको् थियो ।
४ सय बढी शिक्षक रहेको बर्दघाट नगरका सामुदायिक विद्यालयहरु तर्फको कक्षा आठको नतिजा विषलेशण गर्दा बर्दघाट नगरका सबै सामुदायिक विद्यालयहरु मध्ये राष्ट्रिय मा.बि.ले सबै भन्दा बढी ७० दशमलब ७१ प्रतिशत रिजल्ट निकाल्न सफल भएको तथ्याङक सार्वजनिक गरीएको थियो ।
त्यसैगरी शान्ति निकुञ्ज मा.बि.ले ५९ दशमलब ९ प्रतिशत रिजल्ट निकाल्दै नगरमा दोस्रो स्थान कायम गर्न सफल भएको छ भने ५४ दशमलब ३२ प्रतिशत रिजल्ट निकाल्दै दाउन्ने देवि मा.बि.ले तृतिय स्थान हाँसिल गरेको छ ।
कक्षा आठको नतिजा विषलेशण कार्यक्रममा बर्दघाट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका धनपति पौडेलले प्रस्तुत गर्नु भएको बिषय गत तथ्याङ्क अनुसार नेपालीमा आन्नद आधारभुत विधालयले १०० प्रतिशत,अंग्रजीमा गंगा.मा.बि.ले ८७.५ प्रतिशत,गणीतमा गंगा.मा.बि.ले ८५ प्रतिशत,विज्ञानमा गंगा.मा.बि.ले १०० प्रतिशत,सामाजिकमा गंगा.मा.बि.ले ९५.५ प्रतिशत र स्वास्थ्यमा सरस्वती मा.बि.ले ९४.९ प्रतिशत नतिजा ल्याएर बर्दघाट नगरमा बिषयगत रुपमा सबै भन्दा अडागी रहेको प्रमाणीत गरेका छन ।
अखण्ड आधारभुत विधालयले सबै भन्दा कम बिद्यार्थी ( ३ जना) र कमरिजल्ट ल्याउनेमा नाम राखेको छ भने आन्नद आधारभुत विधालयलले ब्यवस्थापन समितिको शुन्य सहयोग र शिक्षक दरवन्दी कमहुदाँ सबै भन्दा बढी समय पढाउनु पर्ने र प्रशासनिक कामले गर्दा शिक्षकले पढाउन नपाएर बिद्यार्थीहरुको शैक्षिक नतिजा कम आएको जानकारी गराइएको थियो ।
