परासी, २० कात्तिक
नेकपा एमाले केन्द्रीय सदस्य सरिता भुसाल खनालले एमाले चुनावबाट डराउने पार्टी नभएको तर वर्तमान सरकारले सुरक्षाको प्रत्याभूति दिलाउन नसकेकाले चुनाव हुने सम्भावना नदेखिएको बताउनुभएको छ ।
पश्चिम नवलपरासीस्थित एमाले सुनवल नगर कमिटीको सातौँ विस्तारित बैठकलाई सम्बोधन गर्दै निवर्तमान प्रतिनिधिसभा सदस्य समेत रहनुभएकी नेतृ खनालले चुनाव हुने सम्भावना नदेखेरै एमालेले संसद पुनःस्थापनाको माग गरेको स्पष्ट पार्नुभयो ।
मुलुकको समृद्धिका लागि एमालेको विकल्प नभएको बताउँदै नेतृ खनालले उच्च मनोबलका साथ पार्टीको काममा लाग्न र जनतालाई बुझाउन समेत आग्रह गर्नुभयो । सामाजिक सञ्जालको प्रयोग गरी एमालेलाई कमजोर बनाउने र एमालेको नेतृत्वप्रति अफबाह फैलाउने षडयन्त्र भइरहेकोले त्यस्ता गतिविधिको विश्वास नगर्न र डटेर प्रतिकार गर्न पनि उहाँले जोड दिनुभयो ।
यस्तै एमाले केन्द्रीय सदस्य बिमला अर्यालले देशको समृद्धि र एमालेलाई बलियो बनाउन केपी ओलीको नेतृत्वको विकल्प नभएको बताउनुभयो । जेनजी आन्दोलनको नाममा घुसपैठ गरी आफूहरुको घर जलाउने र तोडफोड गरेर कमजोर बनाउने षडयन्त्र गरिएपनि विचारलाई भत्काउन नसकेको उहाँको भनाइ थियो । उहाँले संविधानको रक्षा र लोकतन्त्रको जर्गेनाका लागि नेकपा एमालेले गर्न लागेको जभेला र जनप्रर्दशनमा व्यापक सहभागिता जनाउन आह्वान पनि गर्नुभयो ।
एमाले सुनवल नगर कमिटी अध्यक्ष मुक्ति बहादुर भण्डारीको अध्यक्षतामा भएको बैठकले सुनवलमा व्यापक जनपरिचालन गर्ने निर्णय गरेको छ । कात्तिक २२ गते प्रत्येक वडामा जनभेला तथा कात्तिक २५ गते नगर स्तरीय जनप्रदर्शन सफल बनाउन नगरका १३ वटै वडामा जनभेलाका लागि सम्बन्धित वडामा रहेका जिल्ला सदस्यहरुलाई नेतृत्व गर्न र अन्य सबै नेता, कार्यकर्ता तथा आम नागरिकलाई जनभेला र जनप्रदर्शनमा सहभागि हुन आह्वान गरिएको नगर अध्यक्ष भण्डारीले बताउनुभयो ।
जेनजी आन्दोलनपछि पहिलो पटक भएको नगर कमिटीको बैठकमा सदस्यहरुले पार्टीलाई बलियो बनाउन,कार्यकर्तामा उत्साहत थप्न तथा योगदानको आधारमा जिम्मेवारी दिन सुझाव दिएका थिए ।
उक्त अवसरमा एमाले केन्द्रीय स्कुल विभाग सदस्य बद्री खनाल, प्रदेश सदस्य द्धय थानप्रसाद गैरे, सूर्यप्रसाद न्यौपाने,जिल्ला उपसचिव राजन कुमार आचार्य,जिल्ला सचिवालय सदस्य लेखनाथ खरेल,जिल्ला सदस्य कर्णबहादुर सेन,मदन भण्डारी फाउण्डेसनका अध्यक्ष श्याम बस्याल, नगर उपाध्यक्ष नरिश्वर पराजुली लगायतले सम्बोधन गर्नुभएको नगर सचिव श्याम गुरुङले बताउनुभयो ।
