बर्दघाट,कार्तिक–१९
बर्दघाट नगरपालिकाले यस वर्ष किसानलाई ४९ लाख ९८ हजार रुपैयाँ बराबरको गहुँको बीउ वितरण गर्न लागेको छ। बीउ वितरण ५० प्रतिशत लागत साझेदारीमा गरिने नगरपालिकाले जनाएको छ।५ सय ८८ क्विन्टल गहुँको बीउ बितरण गर्न लागिएको हो ।
नगरपालिकाले यस पटक वितरणको प्रक्रिया सहज र पारदर्शी बनाउन ५ वटा सहकारी संस्था मार्फत बीउ वितरण गर्ने व्यवस्था गरेको छ। किसानले प्रति कठ्ठा ५ किलोका दरले बीउ लिन सक्नेछन्, जसमा अधिकतम २ क्विन्टल सम्म लिन पाइनेछ।
२ क्विन्टल बीउ लिने किसानले ८,५०० रुपैयाँ बराबरको अनुदान प्राप्त गर्नेछन्। यसअघि नगरपालिकाले प्रत्यक्ष रूपमा किसानलाई बीउ वितरण गर्दै आएकोमा यस वर्षदेखि सहकारीमार्फत वितरण गर्दा किसानको हातमा बीउ सजिलै पुग्ने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।
नगर प्रमुख शम्भुलाल श्रेष्ठका अनुसार, “सहकारीमार्फत वितरण गर्दा न किसानलाई झन्झट हुन्छ न कार्यालयमा भीड। यसले पारदर्शिता र पहुँच दुवै बढाउनेछ र सहजै किसानको हातमा बीउ पर्नेछ।”सिमित श्रोत साधनका बाबजुद पनि कृषीलाई प्राथमिकतामा राखेर अघि बढेका छौ”श्रेष्ठले भन्नुभयो ।
नगरपालिकाले आगामी दिनमा पनि स्थानीय उत्पादन वृद्धिका लागि किसानमैत्री कार्यक्रम निरन्तर अघि बढाउने जनाएको छ ।
