साउन–२०
झण्डै १० करोडको लागतमा बन्ने बर्दघाट वडा नं.–५ र १६ को सिमानामा पर्ने खजुरी खोलामा पुल निर्माणको जिम्मा २०७७ सालमा मृत सन्जिवनी निर्माण सेवाले पाएको थियो । अहिले ५ बर्ष हुँदा पनि पुल निर्माण कार्यले पूर्णता पाउन सकेको छैन ।
खजुरी खोलाको बाटोहुदै दैनिक यात्रा गर्ने यात्रु,सवारी चालक र पैदल यात्रीहरुले खोलामा पुल निमार्णको विजोग अवस्था देख्दा नेता तथा जनप्रतिनिधिहरुलाई सामाजिक सञ्जालमा गएर भट्टेसराप गर्दै मन बुझाउने गरेका छन ।
केहि मात्रामा पुलको फाउन्डेसनको काम भैरहदा ठेकेदार कम्पनीको भुक्तानी समेत रोकिएपछि पुलको थप काम अघि बढ्न सकेको छैन । संघिय सांसद विनोद चौधरीले शिलान्यास गरेको उक्त पुलको निर्माण कार्यले गति लिने र छोड्ने भैरहदा सांसद चौधरीलाई खजुराको पुल निक्कै पेचीलो बनेको छ ।
यता सांसद चौधरीले भने पुलका लागि आफूले सम्बन्धित निकायमा पटक पटक ताकेता र पहल गरिरहेको बताउँदै आ–आउनु भएको छ । पुलका विषयमा थुप्रै आवाज उठेपछि केहि दिन अघि बर्दघाट–५ पाल्डाँडाको एक कार्यक्रममा बोल्दै चौधरीले बजेट बिनियोजन भएपनि निर्माण कम्पनीहरुलाई राज्यले भुक्तानी दिन नसक्ने समस्या छँदा छँदै आफू सग भएका वैकल्पिक श्रोत साधनबाट काम अघि बढाउने पहल गरिएको जानकारी गराउनु भएको थियो । स्थानिय नागरीकहरु भने अहिले ५ बर्ष हुँदा पनि पुल निर्माण सम्पन्न नहुँदा यो पुल यतिकै अलपत्र हुने त होइन ? भन्नेमा चिन्तित भएका छन ।
शिलान्यास गरीएको खजुरी खोलाको पुल अलपत्र अवस्थामा परेपछि संघिय सांसद सरीता भुषालले संसदमा खजुरी खोलाको पुल निर्माण गर्न उचीत बजेटको ब्यवस्था गर्न माग समेत गर्नु भएको थियो । तर अहिले निर्माणाधीन अवस्थामै रहेको खजुराखोला पुल पेचिलो विषय बन्दै गएको छ ।
अस्थाई रुपमा ह्युम पाइप राखेर खोला वारी पारी आउ–जाउ सहज बनाईए पनि खहरेको बाढीले पटक –पटक ह्युम पाइप बगाउँदा स्थानियवासीहरु जोखिम मोलेर नै यात्रा गर्ने गरेका छन । यता ठेकेदार कम्पनी र त्यससँग सम्वन्धित ब्यक्तिहरुले भने बजेटको समस्याका कारण ढिला भएको र अहिले भने बर्षायामका कारण काम हुन नसकेको सामाजिक सञ्जाल मार्फत पत्र पोष्ठाएर जानकारी गराएका छन ।
कुल रु ९ करोड ७७ लाखको लागतमा ३० महिना भित्र निर्माण सम्पन्न हुने लक्ष्य लिएको पुल संघीय सरकार अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा निर्माण हुन लागेको हो । ७५ मिटर लम्बाइ र ११ मिटर चौडाइमा पुल निर्माण गरीदै छ ।