sunwal

‘एक घर, एक धारा’ अभियान सुस्ता गाउँपालिकाको अधुरो सपना

673

सुनयना चौधरी

सुस्ता गाउँपालिकामा ‘एक घर, एक धारा’ सरकारको बहुचर्चित अभियान अझै पनि आशाको किरण भन्दा परको अधुरो सपना मात्र बनेको छ । प्रदेश सरकारले यो अभियानअन्तर्गत विभिन्न क्षेत्रमा खानेपानीका उल्लेखनीय कामहरू गरेको भए पनि सुस्ताका गाउँहरूमा नागरिक अझै पनि धमिलो चापाकल, इनार र किनिएको पानीमा निर्भर छन् । बालबालिका, बृद्धबृद्धादेखि गर्भवती महिलासम्म दुषित पानीकै जोखिममा छन् ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यलय परासीका प्रमुख प्रकाश न्यौपाने का अनुसार पश्चिम नवलपरासीमा बजेट अभावका कारण खानेपानी आयोजना सम्पन्न गर्न चुनौतीपूर्ण बन्दै गएको छ । प्रदेश सरकारले एक घर एक धारा अभियान अन्तर्गत सुरु गरेका खानेपानी आयोजना अलपत्र अवस्थामा छन । जिल्लामा चालु आर्थिक बर्षमा ६ वटा आयोजना सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ मा जिल्लामा खानेपानी आयोजनाहरूका लागि ११ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। तर आगामी आर्थिक वर्ष २०८२/०८३ मा भने त्यो बजेट एक्कासी घट्दै ९ लाखमा सीमित भएको छ। प्रदेश सरकारको लगानी संघिय ससर्त अनुदान र जलवायू अनुकुलित बृहत खानेपानी आयोजना अन्तर्गत जिल्लामा ७२ वटा खानेपानी आयोजना सञ्चालनमा छन् । जस मध्ये २० वटा आयोजना पनि पूर्ण रुपमा सम्पन्न भएका छैनन् । घर घरमा शुद्ध पिउने पानीको पहुच विस्तार गर्ने प्रदेश सरकारको लक्ष्य अनुरुप सघन खानेपानी विकास आयोजना अन्तर्गत जिल्लामा ४७ वटा आनेपानी आयोजना सूचिकृत छन । काम सुरु नै भएको छैन । प्रदेश सरकारले ४७ वटा खानेपानी आयोजनाको काम गर्न जम्मा ७ करोड ९१ लाख बजेट विनियोजन गरेको छ ।

न्यौपानेका अनुसार सुस्ता गाउपालीकामा हाल मदरबाबा खानेपानी आयोजना , छिबनी खानेपानी आयोजना, बनदेवी खानेपानी आयोजना र कुडिया खानेपानी आयोजनाले घरघरमा पानी वितरण गरिसकेको छ । संचालनमा रहेका ४ वटा आयोजनाहरुले पाईपलाईन विस्तार र धारा जडानको काम गरिरहेका छन । भने पानी संचालन हुन नसकेका ३ आयोजना रहेका छन । जसमा पत्थरकला खानेपानी आयोजना , नरसहि खानेपानी आयोजना र पक्लीहवा खानेपानी आयोजना रहेको छ । सुस्ता वडा नं. ३ मा रहेको पत्थरकला आयोजनामा टंकी बनिरहेको अवस्थामा छ । सुस्ता वडा नं. ४ मा रहेको नरसहि खानेपानी आयोजनामा भने टंकी बनीसकेको पाईपलाईन विस्तार काम लगभग पुरा भैसकेको तर विद्युतको मिटर निकाल्न नपाएर काम रोकिएको छ । ट्रान्सर्फमर जडान हुन नसकेकोले बोरिगं बाट पानी निकाल्न सकिएको छैन । नरसहि आयोजना करिब करिब पानी संचालन उन्मुख छ । न्यून बजेटले गर्दा पक्लिहवा खानेपानी आयोजनामा टंकी र बोरिगंको काम भएको तर पाईप लाईन विस्तार हुन सकेको छैन ।

न्यौपानेका अनुसार बजेटको अभावले धेरै आयोजना सम्पन्न गर्न सकिएको छैन । प्राथमिकताको आधारमा आयोजनाहरु सम्पन्न गर्न आफुहरु लागि परेको बताए । काम सुरु भैसकेको आयोजनाहरुलाई नै सम्पन्न गर्ने गरि आगामि आर्थिक बर्षमा काम गर्ने बताए । न्यून बजेटको कारण सुस्ता गा.पा वडा नं. ५ नारायणी पारी हाल कुनै पनि योजना नरहेकोले आगामि बर्षहरुमा योजना राख्ने बताए । प्रर्याप्त बजेट नहुदा प्रदेश सरकारले एक घर एक धारा अभियानमा जोडिन सुस्ता गाउँपालीकालाई धेरै समय लाग्ने उनको भनाई छ । तराई क्षेत्रमा लागत पनि धेरै लाग्ने हुदा योजना सम्पन्न गर्न समय लाग्ने उनले बताए ।

सुस्ता गाउपालीका वडा नं. १ का अध्यक्ष अशोक चौधरी भन्छन् “वडामा संचालित छिवनी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले वडाका केहि टोलहरुमा खानेपानी वितरण गरिसकेको र बनदेवी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले बरुवा र सिंगहा गाउमा पानी वितरण गरिसकेको छ । बनदेवी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले वडा नं. १ को रुपौलीया, बनदेवी र फेचुवा गाउमा पाईप विछ्याएलगत्तै पानी वितरण गर्ने योजना बनाएको छ । वडा नं. १ का खानेपानी संस्थाहरुले पानी वितरण गर्न लागेको २ वर्ष जति मात्रै भएकोले विस्तार हुदै गैरहेको छ । १८ सय जति घरधुरी मात्रै भएकोले संचालनमा रहेका खानेपानी संस्थाले नै वडाका जनताको माग पुरा गरिरहेको छ ।”

सुस्ता गाउपालीका वडा नं. ३ का अध्यक्ष हरिलाल दुसाधले पथ्थरकला खानेपानीमा डूवटेबल गाडिसकीएको र  ओभरहेड टुयांकी  बनीसकेको बताए । उनका अनुसार कार्यलय व्यवस्थापन गर्न , पाईपलाईन विस्तार गर्न बाकी छ । त्यस्तै वडा नं. ३ सेखुवनवामा रहेको नारायणी खानेपानीमा डिपट्युवेल गाडिसकेको ओभरहेड टयाकी बनाउन बाकी छ, प्रदेश सरकारले काम गरिरहेको छ काम सम्पन्न भए पछि उपभोक्ता समितिलाई हस्तान्तरण गरी पानी वितरण हुने छ । हालसम्म वडा नं. ३ का जनताले चापाकलको पानी खाने गरेका छन । हुनेखानेले त पानी किनेर नै पिउने गर्छन । खानेपानी दुषित भएकै कारण वडा नं. ३ मा छाला सम्बन्धी रोग र झाडापखाला रोगहरु लाग्ने गरेको छ । वडामा शुद्ध खानेपानीको लागि आफुले प्रदेश सम्म आयोजनाको लागि प्रयास गरिरहेको तर सम्बन्धित निकायले आफुहरुको आवाज सुनेपनि नसुनेको जस्तै गर्ने गरेको छ ।

यता सुस्ता गाउपालीका वडा नं. २ की वडा सदस्य कुन्ती चौधरीका अनुसार वडामा हाल मदरबाबा खानेपानी तथा सरसफाई उपभोक्ता समिति र कुडिया खानेपानी तथा सरसफाई उपभोक्ता समिति रहेको बताउँछिन् । उनी भन्छिन् “वडा नं. २ मा भएको खानेपानी संस्थाले त्यहाका जनतालाई प्रयाप्त शुद्ध पानी वितरण गरिरहेको छ । महलबारी , सत्तपति , गुदरीया ,  जमुनाबारी गाउका जनतालाई महलबारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले पानी वितरण गर्छ भने कुडिया हरकपुराका जनतालाई कुडिया खानेपानी तथा सरसफाई उपभोक्ता समितिले सेवा दिईरहेको छ ।” बर्खायाममा कहिले काही धमिलो पानी आएपनि अरुबेला पानी शुद्ध नै रहेको कुन्तीको भनाई छ ।  खानेपानी आयोजनाहरु संचालनमा नआउदा आफुहरुले चापाकल , ईनारको पानी पिउने गरेकोमा हाल शुद्ध पानी पिउन पाउदा वडाका नागरिकहरुले राहत पाएको चौधरीको भनाई छ ।

सुस्ता गाउपालीका वडा नं. ५ नारायणी पारी सुस्ता गाउका स्थानीय मनिश कुमार हरिजन भन्छन् “हामीले पिउने पानीको मुख्य श्रोत चापाकल नै हो , जुन धेरै गहिराईमा गाडिएको हुदैन , १२ देखि २० फिटको भित्र गहिराई छ । दुषित पानीले गर्दा धेरै रोगहरु लाग्ने गर्छ , बर्षातको समयमा पानी नै धमिलो आउने गर्छ जसले गर्दा यहाका स्थानीयहरु बाध्य भएर त्यहि धमिलो पानी पिउने गर्छन । प्रदेश सरकारले पञ्च बर्षिय योजनामा ट्याकी बनाउन लागेको थियो ,  बोरिगं पनि राखेको छ , प्रदेशले ४१ लाख बराबरको काम पनि गरेको छ । २०७३ सालमा हामीले उपभोक्ता संस्था पनि दर्ता गरेका थियौं जसको अध्यक्ष पनि म नै हो । २०७६ सालमा योजना संचालन भए पनि जग्गाको विवाद र राजनैतिक द्धन्द्धले गर्दा बोरिगं गाडेर खानेपानी संचालन हुन नसकेकोले यहाका बासिन्दाहरु अझै सम्म पनि शुद्ध खानेपानी खान पाएका छैन्न । ”

वडा नं. ५ नारायणी पारी सुस्ता गाउकी स्थानीय हमिशा कुमारी ले आफुले प्रशोधित गरेको पानी किनेर खाने गरेको बताउँछिन् । उनी भन्छिन् “म अहिले ८ महिना की गर्भवती छु । स्वास्थ्यचौकीले शुद्ध खानेपानीको बारेमा जनचेतना फैलाए पछि म गर्भवति भए देखि नै पानी किनेर खाने गर्छु । यहाको पानी शुद्ध छैन । घरमा भएका बाकी परिवार चापाकल कै पानी खानुहुन्छ तर म गर्भवती भएकोले मेरो स्वास्थ्यको ख्याल गर्दै मेरो लागि पानी किन्नु बाध्यता छ । ”

सुस्ता गाउपालीका वडा नं. ४ नरसहि बाल क्लब की अध्यक्ष निशा कुमारी तेलीले अहिले सम्म पनि चापाकलको दुषित पानी खाने गरेको बताउँछिन्  । जसले गर्दा झाडापखाला छाला सम्बन्धि रोग लाग्ने गरेको उनको भनाई छ  । उनी भन्छिन् “मेरो साथीहरु पनि बिरामी परिरहन्छन । हामीले खाने पानीको परिक्षण पनि हुदैन । हामीलाई थाहा छ हामीले पिउने पानी दुषित छ तर बाध्य भएर जे छ त्यहि चपाकलको पानी खानु पर्छ । सुस्तालाई बालमैत्री बनाउने कुरा चलिरहदा म बालकल्बको अध्यक्ष भएको नाताले हामीले शुद्ध खानेपानी पिउन पाउनु पर्छ भनेर पालीकामा कुरा उठाउने गरेको छु । हाम्रो वडा नं. ४ मा रहेका विद्यालयहरुमा कहि कहि त पानी किनेर नै खानु पर्ने अवस्था छ । ”

सुस्ता गाउपालीका स्तरीय बालक्लबका अध्यक्ष वडा नं. ३ का बैजनाथ हरिजन विद्यालयमा शुद्ध पिउने पानीको ब्यबस्था नभएको बताउँछन् ।  उनी भन्छन्  “मेरो घर त वडा नं. ३ मा छ तर म पढ्ने विद्यालय वडा नं. २ मा छ । विद्यालय भएको वडामा शुद्ध खानेपानीको व्यवस्था छ तर मेरो घर भएको वडामा चापाकलकै पानी खाने गर्छौ । वडा नं. ३ मा खानेपानीको समस्या धेरै नै छ । दुषित खानेपानीले पानी भरेर राखेको भाडा, धोएको कपडा पहेलो हुने गर्छ । म सुस्ता गाउपालीका मा रहेका बालक्लबको भेला बोलाउछु ।  सर्वप्रथम त हाम्रो पालीका भित्र रहेका बालबालीका संग सम्बन्धित समस्या उठान गरि बार्षिक कार्ययोजना बनाउने सोच छ  जसमा खानेपानीको विषय पहिलो प्राथमिकतामा रहन्छ । ”

सुस्तामा शुद्ध खानेपानीको अभावमा प्रदुषित पानी प्रयोग गर्दा पानीकै कारण विरामी पर्नेको संख्या पनि धेरै छ । सुस्ता गाउपालीका स्वास्थ्य शाखा प्रमुख केशरी देवी भट्टराईका अनुसार चालु आ.व मा सुस्ता गाउपालीका वडा नं. १ मा टाईफाईट भएका २५ जना झाडापखाला लागेका ३७ जना जुकाको समस्या भएका ३७ जना  र आउमासी समस्या भएको १५ जना ले स्वास्थ्य चौकी बाट सेवा लिए । त्यस्तै वडा नं. २ मा टाईफाईट भएका  ५ जना , झाडापखाला लागेका २३ जना आउ रगतमासी परेका १० जना र व्याक्टेरीया इन्फेक्सन भएका ७ जना ले सेवा लिए । वडा नं. ३ मा झाडापखाला लागेका२४ जना जुकाको समस्या भएका २१ जना ले सेवा लिए । वडा नं. ४ मा टाईफाईट भएका २३ जना, झाडापखाला लागेका ३३ जना , जुकाको समस्या भएका ३४ जना , आउ रगतमासी समस्या भएको ८ जनाले सेवा लिए । वडा नं. ५ मा टाईफाईट भएका २५ जना, जुकाको समस्या भएका ७ जना , र जण्डीस भएको १ जना ले सेवा लिए । सुस्ता वडा नं. ५ झोलुगें पारी सुस्ता गाउमा रहेको स्वास्थ्य एकाई संस्थाबाट झाडापखाला लागेका २३ , जुकाको समस्या भएका ८ जना , आउ रगतमासी समस्या भएको ६ जना ले सेवा लिए । दुषित पानी र खानाबाट हुने रोगहरुसंग सम्बन्धित सेवा लिएका समग्र पालीकाको अवस्था हेर्ने हो भने टाईफाईट भएका ७८ जना झाडापखाला लागेका १४०जना , जुकाको समस्या भएका १२६ जना , आउ रगतमासी समस्या भएको ४५ जना र जण्डीस भएका १ जना ले सेवा लिएका छन ।

विश्व स्वास्थ्य संगठनका अनुसार पर्याप्त पानी पाएको कुरा मान्नका लागि प्रतिव्यक्ति प्रतिदिन ५० देखि १०० लिटर पानी उपलब्ध हुनु हो । पानीको अति अभावको स्थितीमा पनि प्रतिव्यक्ति दैनिक न्यूनतम २० लिटर पानी उपलब्ध हुनुपर्ने छ ।  तर सुस्ताका नागरिकको हकमा सो कुरा लागु नै नहुने स्थिती छ ।

शुद्ध पानी हुनको लागि किटाणु रहित ,केमिकल रहित ,घातक परावैजनिक पदार्थ नमिसिएको , मिसावट नगरिएको , स्वास्थ्यको सुरक्षा गर्ने र पानीको रङ तथा स्वाद प्राकृतिक किसीमको भएको हुनुपर्छ । सुस्ताका नागरिक थाहा हुदा हुदै दुषित पानी खान बाध्य छन ।

राष्ट्यि जनगणना २०७८ को अनुसार सुस्ता गाउँपालिकाको जम्मा जनसख्या ४०,६५५ रहेको छ ।  गाउँपालिकामा जम्मा घरधुरी ८०२६ रहेको छ । पालिकामा पाइप सञ्जालको  खानेपानी सुविधाबाट लाभान्वीत हन नसकेको जनसख्या भने ३६,८४२  रहेको छ । पालिकामा पाइप सञ्जालको खानेपानी सुवीधाबाट लाभान्वीत घरधुरी ३,८१३ रहेको छ । जस अनुसार खानेपानी सुवीधाको पहुँच हुन नसकेको जनसगख्या ६८.७३ प्रतिशत रहेको छ । खानेपानी सुवीधा पहुँचमा जम्मा घरधुरी ३१.२७ प्रतिशत रहेको छ ।

‘एक घर, एक धारा’ सुस्ताका लागि नारा मात्रै हो, जीवन होइन। सरकारले घोषणामा तागत देखाए पनि कार्यान्वयनको तहमा सुस्ता अझै धेरै पछाडि छ। बालमैत्री पालिका बनाउने सपना बोकेको सुस्ताले अब हरेक बालबालिकालाई शुद्ध खानेपानीको ग्यारेन्टी दिनुपर्छ । नत्र, यो अभियान पनि अरु धेरै योजनाहरू जस्तै राजनीति, विवाद र बजेटको अभावमा गुम्सिएको कागजी सपना मात्र हुनेछ । ‘एक घर, एक धारा’ भन्ने नारा केवल बोर्डमा लेखिएको स्लोगन मात्र होइन, नागरिकको आधारभूत अधिकार हो । यो अधिकारबाट वञ्चित हुनु मतलब स्वास्थ्य, शिक्षा र समृद्धिको बाटोबाट पछि परिरहनु हो ।