बर्दघाट,असार-७
बर्दघाट नगरपालिका भित्र रहेर उद्योग ब्यबसाय संचालन गर्दै आईरहेका उद्योगी ब्याबसायीहरुले कर रहरले तिर्ने वातावरण बनाउनुपर्ने बताएका छन् । कर भन्नासाथ मनमा एक प्रकारको डर रहिरहेको भन्दै स्थानिय सरकार होस या कर कार्यालय सबैभन्दा पहिला उद्योगी ब्यबसायीले स्वस्फुर्त कर तिर्ने वातावरण बनाउन आवश्यक रहेको यहाँका उनीहरुको भनाई छ ।
उद्योग ब्यापार संघ बर्दघाटले आयोजना गरेको कर शिक्षा कार्यक्रममा बोल्ने उद्योगी ब्यबसायीले कर प्रणाली झण्झटिलो भएको बताउँदै त्यसलाई सरल र सहज गराउनुपर्ने धारणा राखेका हुन् ।
कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्यायले नगरपालिका निजी क्षेत्र संग सहकार्य गर्न तयार रहेको बताउनुभयो । सरकार निजी क्षेत्र र सहकारी संविधानले घोषित गरेको राष्ट्रको ३ वटा प्रमुख खम्बा भएको बताउँदै उपाध्यायले निजी क्षेत्रलाई उत्साही बनाउनका लागि नगरपालिकाले सदैव सहयोग गर्ने बताउनुभयो । निजी क्षेत्रले लागत सहभागितामा योजनाको माग गरे नगरपालिका सहकार्य गर्न तयार रहेको उपाध्यायको भनाई छ । शनिवार बजार बन्द गर्दा बजार गर्न अन्त जाने प्रबृत्ति बढेको र साँझमा छिटो बजार बन्द हुँदा पनि बजारमा चहलपहल घटेको भन्दै बजारको सौन्दर्यीकरण गर्ने, शनिवार बजार खोल्ने र राती अबेर सम्म ब्यबसाय संचालन गर्न सके केही हद सम्म बजारमा चहलपहल बढ्ने भएकोले त्यस तर्फ ध्यान दिन आवश्यक रहेको धारणा ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले स्थानिय सरकार उद्योगी ब्यबसायीका कुरा सुन्न र साथ दिन तयार रहेको बताउनुभयो । उहाँले खुल्ला सिमानाका कारण ब्यबसायी मर्कामा परेको विषयमा भने ब्यबसायीहरु पनि इमान्दार भएर अबैध रुपमा भित्रिने बस्तुको खरिद विक्रि नगर्न र त्यसका लागि आवश्यक अनुगमन गर्नका लागि श्रोत साधन उपलब्ध गराउन नगरपालिका तयार रहेको उहाँको भनाइ थियो ।
करदाता सेवा कार्यालय परासीका कर अधिकृत फर्सुराम पोखरेलले उद्योगी ब्यबसायी र करदाता सेवा कार्यालयको सुमधुर सम्बन्ध हुनुपर्ने बताउनुभयो । उहाँले आर्थिक विधेयक २०८२ ले प्रदान गरेको छुट सुविधाका बारेमा जानकारी गराउनुभएको थियो । उद्योगी ब्यबसायीका तर्फबाट आएका जिज्ञासा र प्रश्नहरुको जवाफ दिनुभएको थियो ।
कार्यक्रमा ग्रिल तथा स्टिल ब्यबसायी महासंघका प्रदेश सदस्य केशव बस्याल, बर्दघाट बजार विकास समितिका अध्यक्ष गोविन्द आचार्य लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
उद्योग ब्यापार संघ बर्दघाटका अध्यक्ष राजु न्यौपानेको अध्यक्षता, नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बरिष्ठ उपपाध्यक्ष दिनेश न्यौपानेको स्वात मन्तब्य रहेको थियो भने महासचिव नारायण भण्डारीको संचालन रहेको थियो । ्
कार्यक्रम बर्दघाट नगरपालिकाको सहकार्य, करदाता सेवा कार्यालय परासीको समन्वय मा संचालन भएको हो ।